घुस दिन खाेज्ने यी अधिक्तालाई तनाव, सर्वाेच्चकाे प्रशंसा

काठमाडौं । अधिवक्ता चिरञ्जीवी खतिवडा पाटन उच्च अदालतका कर्मचारीलाई घुस दिँदा दिँदै रंगेहात भेटिएपछि खैलाबैला भएको छ ।

८–९ दिन अगाडि उच्च अदालत पाटनका फाँटवाला कर्मचारी कान्छा धौवञ्जारलाई अधिवक्ता खतिवडाले दुई हजार दिन खोज्दा निगरानी समूहले रंगेहात पक्राउ गरेको थियो ।

सो विषयमा आन्तरिक रुपमा छानविन र चेतावनी दिएर घटनालाई सामसुम पारिएको छ ।

सर्वोच्च अदालतको अनुगमन तथा निरीक्षण महाशाखाका प्रमुख विमल पौडेलले अधिवक्ता खतिवडा र सेवाग्राहीले फाँटवाला कर्मचारीलाई दुई हजार रकम दिन खोज्दा रंगेहात फेला पारिएको बताए ।

‘यस्ता घाटनाप्रति हामी सचेत छौँ’, पौडेलले भने, ‘सबै पक्षलाई राखेर सो घटनाका बारेमा सोधपुछ र जानकारी लिइएको छ । नसिहत दिइएको छ ।’ उनले यस्ता घटना हुन नदिन सर्वोच्च अदालतले निगरानी समूह नै बनाएर आफ्ना गतिविधि गर्दै आएको बताए ।

न्यायापालिकामा भ्रष्टाचार हुन्छ भनेर आक्षेपहरू लागिरहेका बेला दुई हजार घस दिन खोज्ने अधिवक्तालाई पक्राउ गरेर न्यायपालिकाले सर्वसाधारणको मन जित्ने प्रयास गरेको छ ।

यो घटनाको सर्वसाधारण र अधिवक्ताहरूले स्वागत गरेका छन् ।

महाशाखाका प्रमुख पौडेलले न्यायपालिकाभित्र सेवाग्राहीलाई अफ्ठ्यारो हुने गरेर कुनै पनि गतिविधि हुन नदिने भन्दै निगरानी समूह सक्रिय रहेको बताए ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले पनि घटनाका विषयमा सर्वोच्च अदालत गम्भीर रहेको बताए । उनले यस्ता खालका घटनाले सेवाग्राही र न्यायापालिकाबीच अविश्वास पैदा गर्नेभन्दै आफूहरू गम्भीर रहेको बताए ।

प्रवक्ता पोखरेलले फाँटवाला कर्मचारी कान्छा धौवञ्जारको पाटन उच्च अदालतबाट सरुवा भएको विषयलाई नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् । यो घटनापछि फाँटवाला धौवञ्जारलाई सर्वोच्च अदालतमा सरुवा गरिएको छ ।

फाँटवाला कर्मचारीलाई दुई हजार दिने क्रममा रंगेहात पक्राउ परेको विषयलाई भने अधिवक्ता चिरञ्जीवी खतिवडाले अस्वीकार गरेका छन् ।

‘यो आरोप असत्य हो । मैले कसैलाई दुई हजार दिएको छैन’, खतिवडाले भने, ‘समाचारमा सत्यता छैन । मलाई फसाउन खोजिएको छ ।’

वरिष्ठ अधिवक्ता बद्री पाठक र भरतप्रसाद खरेलले पनि न्यायालयमा अधिवक्ताले घुस खुवाउँदा खुवाउँदै पक्राउ गरेको भनेर फेसबुकमा लेखेपछि अधिवक्ताहरूका बीच खैलाबैला भएको थियो ।

पाठक र खरेलले फेसबुकमा कसैको नाम उल्लेख नगरेपनि दुई हजार प्रकरणले कानून व्यवसायीहरूभित्र चर्चाको विषय बनेको छ ।

Published : Thursday, 2019 August 29, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया