हेटौँडामा तरुण दलको तीज बृहत साँस्कृतिक कार्यक्रम, खुसी भए चेलीबेटी (तस्वीर)

हेटौंडा । नेपाल तरुण दल मकवानपुरले हरितालिका तीजको अवसर पारेर बुधबार हेटौँडामा तीज गीत तथा बृहत साँस्कृतिक कार्यक्रमसहित दर खाने कार्यक्रम गरेको छ ।

तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा.रामशरण महतको प्रमुख आतिथ्यतामा तीज गीत तथा बृहत साँस्कृतिक कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै डा.महतले तीज पर्व हिन्दूहरूको मात्रै पर्व नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय पर्व भएको बताए । उनले महादेव र पार्वतीको सम्मानका लागि ईतिहाँसदेखि मनाइँदै आएको तीज पर्वको जगेर्ना गर्न सबै दिदीबहिनी दाजुभाई लाग्नुपर्ने बताए ।

डा.महतले नेपाली कांग्रेसको दर्शनमा हिँडिरहेका कम्युनिष्टहरू विश्वबाटै पलायन भएको अवस्थामा नेपालमा यो पटक बाघ बनेर आई देशलाई अधिनायकवादतर्फ धकेलिरहेको आरोप लगाए ।

उनले भने, ‘धेरै समय नेपालमा कम्युनिस्टहरू टिक्ने छैनन् । लोप हुन्छन् ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.महतले ४८ सालबाट कांग्रेसले देशलाई खुला अर्थनीतिमा लगेर देशलाई समृद्ध बनाएको बताए ।

‘कम्युनिष्टहरू अहिले आएर अनुशासनहीनता, बेथिति, राज्य संयन्त्र नै भ्रष्टाचारमा लिप्त भएकाले देशको प्रगति हुन सकेन’, डा.महतले भनेका छन् ।

नेपाल तरण जिल्ला सचिव सचित थापाले संचालन गरेको कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, कोषाध्यक्ष विद्वान गुरुङ, नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, सल्लाहकारहरू उमा दाहाल, नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, कार्यक्रम संयोजक अञ्जना उपाध्यायले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा गायक गायिकाहरूले तीज गीतहरू गाएका थिए । राधिका हमाल, सुनिल थापा, रेखा लामा, रिना मगरले गाएको तीज गीतमा उत्कृष्ट नृत्य गर्नेहरूको तर्फबाट ६ जनालाई पुरस्कार दिइएको छ ।

पहिलो हुने निकिता राईलाई सुनको माईली तिलहरी, दोश्रो हुने वर्षा घिमिरेलाई चाँदीको छल्ला, तृतीय हुने सविता ढकाललाई सुनको चन्द्रमा, चौथो हुने स्वीकृति ढुंगेललाई सुनको औंठी, पाँचौं हुने अस्मिता योञ्जनलाई चाँदीको पाउजु र छैटौं हुने अनीषा चौरेललाई सारी पुरस्कार दिइएको थियो ।

Published : Wednesday, 2019 August 28, 7:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया