रामचन्द्र पौडेल बिरामी, केन्द्रीय कार्यससिमिको बैठक अचानक स्थगित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बिरामी भएपछि बुधबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

बुधबार काठमाडौंको थापाथलीस्थित एउटा निजी अस्पतालमा नेता पौडेलले इण्डोस्कपी गरेका थिए ।

उपचारपछि पौडेलले आराम गर्नुपर्ने भएपछि सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बिहीबार दुई बजेसम्मका लागि स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

अस्वस्थ्य भएपछि वरिष्ठ नेता पौडेलले बैठकमा आउन नसक्ने जानकारी गराएपछि बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको शर्माले बताए ।

‘वरिष्ठ नेता रामचन्द्र पौडेलज्यूले बिरामी छु बैठकमा आउन सक्दैन भन्नुभयो । सभापतिज्यूले पनि बिहीबार दुई बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको छ’, नेपाली कांग्रेसका प्रवक्ता शर्माले भने, ‘रामचन्द्र पौडेलज्यूको स्वास्थ्य लाभ भएपछि बैठक बस्ने छौँ ।’

नेपाली कांग्रेसको बुधबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठकमा भ्रातृ संगठनहरूलाई पूर्णता दिनेदेखि विभिन्न सांगठनिक विषयमा छलफल हुने तयारी थियो ।

नेपाल तरुण दल, नेपाल विद्यार्थी संघसहितका भ्रातृ संस्थाले पूर्णता पाउन नसक्दा कांग्रेस नेतृत्वको आलोचना हुँदै आएको छ ।

Published : Wednesday, 2019 August 28, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया