मोहनविक्रमले आफ्नै ‘मामा’लाई छाडेनन्, पार्टीबाट निस्काशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले पोलिटब्युरो सदस्य गोविन्दसिंह थापालाई कारबाही गरेको छ ।

थापालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ । भदौ ५ गते बसेको पोलिटब्युरो बैठकले थापालाई निश्कासन गरेको विज्ञप्तिमा जनाइएको छ ।

हाँक साप्ताहिकका संस्थापक प्रधानसम्पादकसमेत रहेका थापा मसालका महामन्त्री मोहनविक्रम सिंहका मामा हुन् ।

मसालमा मात्र होइन, कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले समेत थापालाई मामा भनेर सम्बोधन गर्थे ।

मोहनविक्रम सिंहका मामा भएकाले उनी सबैका मामाका रुपमा चिनिन्थे ।

गुल्मी पुख्र्यौली घर भएका थापा विगत ५ दशकदेखि निरन्तर पार्टीको नेतृत्वमा थिए ।

मसालमा पार्टी अनुशासनका नाममा महामन्त्री सिंहले आफ्नै मामालाई पार्टीबाट निश्कासन गरेका छन् ।

हाँक साप्ताहिकको स्वामित्वलाई लिएर मसालमा विवाद थियो । मसालको मुखपत्र मानिने सो पत्रिका थापाको नाममा दर्ता थियो ।

पछिल्लो समय मसालभित्र कृष्ण पौडेललगायतका नेताहरूसँगै थापा पनि असन्तुष्ट समूहमा थिए ।

पञ्चायतकालमा व्यक्तिको नाममा दर्ता गर्नुपर्ने भएकाले पार्टीको मुखपत्र हाँक थापाका नाममा दर्ता गरिएको हुनाले नामसारी गरिदिन पार्टीले गरेको आग्रह थापाले नमानेको आरोप लगाइएको छ ।

सोही विषयमा उनलाई कारवाही गरिएको पार्टीद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

यसअघि गायक जीवन शर्मालाई पार्टीले कारवाही गरिसकेको छ ।

Published : Wednesday, 2019 August 28, 2:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया