कांग्रेसको आपत्तिपछि दुईतिहाइको कम्युनिस्ट सरकारलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले आधुनिक र उच्च प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो कुरा भए पनि गोपनीयतामाथि चुनौती थपिएको बताएका छन् ।

संसदको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै खाँणले भने, ‘आधुनिक र उच्च प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो कुरा हो ।

तर कुनै पनि प्रविधिको दुरुपयोग कसैका लागि पनि उपयुक्त हुँदैन ।’ उनले मन्त्रिपरिषद बैठक सञ्चालन कार्यविधि तत्काल सच्याउन माग गरेका छन् ।

‘हालै मन्त्रिपरिषदले मन्त्रिपरिषदको बैठक सञ्चालन कार्यविधि संशोधन गरेको छ’, उनले भने, ‘मन्त्रिपरिषदको सञ्चालनको कार्यविधि यो ज्यादै नै गम्भीर विषय हो ।’

‘यसको गम्भीरता प्रधानमन्त्रीजी, मन्त्रिपरिषदका सदस्यहरूले यो नियमावली बदल्न पाउँने बैधानिक अधिकारको प्रवन्ध गरिएको छ’, नेपाली कांग्रेसका प्रमुख सचेतक खाँणले भने, ‘तथापि यो संशोधन गर्दा अधिकारलाई दुरुपयोग गर्नु भएन भन्ने म आग्रह गर्न चाहन्छु ।’

‘मन्त्रिपरिषदले प्रधानमन्त्री र मन्त्रीजी सिंहदरबारमा या काठमाडौंमा उपलब्ध नभएको बेलामा पनि भिडियो कन्फरेन्सको माध्यमबाट मन्त्रिपरिषदको बैठक सञ्चालन गर्न र चलाउन मिल्ने कार्यविधिमा जुन संशोधन गरिएको छ यो विल्कुलै अनुचित भएको छ’, उनले भने ।

यसबाट सरकारको सूचना पनि चुहुने र प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो कार्यभार सम्हाल्नुभन्दा अगाडि गोपनीयताको सपथ खाने र त्यो सपथ खाएपछिमात्रै आफ्नो कार्यभार सम्हाल्ने प्रावधान विपरित मात्र होइन, गोपनियता पनि लिक भएर जाने त्यो गम्भीरता पनि रहको उनले बताएका छन् ।

अहिले प्रधानमन्त्री ओली अस्वस्थ रहेको बताउँदै खाँणले उनको सुस्वास्थ्यको कामना गरे । उनले ओलीलाई उपचारबाट चाँडै निको होस् भन्ने आफ्नो र आफ्नो पार्टीको तर्फबाट हार्दिक शुभेच्छा व्यक्त गरेका छन् ।

‘तर प्रधानमन्त्रीजी बाहिर जाँदा सम्माननीय सभामुखमार्फत हामीले यहाँ सुन्यौँ, प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेगरी उहाँको विभागीय र प्रधानमन्त्री कार्यालयको कार्यभार सम्हाल्ने गरी कार्यबहाक प्रधानमन्त्री पनि तोकिएको छ’, उनले भने, ‘सम्माननीय राष्ट्रपति कहाँबाट आएको सूचना हामीले यहाँ सुन्यौँ ।’

‘एकातिर भिडियो कन्फरेन्सबाट हेर्दाखेरी प्रधानमन्त्री ओली कार्यरतै हुनुहुन्छ’, खाँणले भने, ‘अर्कोतर्फ कार्यबहाक प्रधानमन्त्री पनि तोक्नु भएको छ । यो आफैमा पनि नमिल्ने कुरा भयो ।’

उनले यसलाई गम्भीर गल्ती गरेको भन्दै यस्तो गल्ती नदोहो¥याउन चेतावनी दिएका छन् ।

‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटा हामीहरूका अंगहरू छन्’, उनले भने, ‘अब सम्माननीय प्रधानमन्त्रीजी नहुँदाखेरी भिडियो कन्फरेन्सबाट क्याविनेटको बैठक सञ्चालन गर्न मिल्ने हो भने, यदि सम्माननीय सभामुखज्यू भोली हुनु भएन भने यो प्रतिनिधि सभाको पनि बैठक बस्न सक्छ ?’

उलने भने, ‘राष्ट्रिय सभाको अध्यक्ष नहुँदा कार्यविधि बदलिदिएर नियमावली बदलेर राष्ट्रिय सभाको अध्यक्ष अमेरिका गएको बेलामा त्यहिबाट भिडियो कन्फरेन्सको माध्यमबाट राष्ट्रिय सभा चलाउन मिल्छ कि मिल्दैन ।’

‘त्यसैगरी सम्माननीय प्रधानन्यायाधीश पनि विदेश जानु होला, त्यतिबेला न्यायपालिकाको बैठक पनि भिडियो कन्फरेन्सकै माध्यमबाट गरिदिनु भयो भने के होला ?’, उनले भने, ‘यो विल्कुलै अस्वभाविक छ । यसलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।’

उनले मन्त्रिपरिषदको बैठक सञ्चालन कार्यविधि बदलेर प्रधानमन्त्री र मन्त्री काठमाडौंमा नभएको बेलामा पनि भिडियो कन्फरेन्सको माध्यमबाट बैठक बसाल्ने जुन संशोधन गरिएको छ त्यसलाई अविलम्ब संशोधन गरी पूर्ववत स्थानमा लान माग गरेका छन् ।

‘यसले हाम्रो परम्परा पनि बिग्रिन्छ । यो उच्च प्रविधिको सदुपयोग होइन’, उनले भने, ‘दुरुपयोग हो र यसले जग हसाउने काम भएको छ ।’

‘भिडियो कन्फरेन्सको माध्यमबाट मन्त्रिपरिषदको बैठक भयो भने नेपाली कांग्रेसले बडो गम्भीरतापूर्वक लिन्छ’, खाँणले भने, ‘हामीले विधिको शासनकै लागि बोलेको हो । उच्च प्रविधि प्रयोग गर्दा कहिलेकाही त हामीलाई पनि खुशी नै लाग्दछ । तर, यो सदुपयोग होइन दुरुपयोग भयो ।’

उनले यो प्रविधिको प्रयोग डाक्टरले, इन्जिनियरले गर्ने, विज्ञहरूले प्रयोग गर्ने, व्यवसायिकहरू प्रयोग गर्ने भिडियो कन्फरेन्सलाई अत्यन्तै संवेदनशील निकाय मुलुकको ज्यादै नै गम्भीर निकाय मन्त्रिपरिषदको बैठक नै भिडियो कन्फरेन्सबाट गरिनु घोर आपत्ति जनक भएको बताए ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस मन्त्रिपरिषदको बैठक भिडियो कलबाट गर्ने कार्यको विरोध गरेपछि दुईतिहाइको कम्युनिस्ट सरकारलाई तनाब सुरु भएको छ ।

Published : Tuesday, 2019 August 27, 4:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया