निरास भए रवि लामिछानेका लाखौँ शुभेच्छुकहरू, चितवनमा सन्नाटा

भरतपुर । शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनले आइतबार पुनः प्रहरीको हिरासतमा फिर्ता पठाइदिएको छ ।

सरकारी वकिलमार्फत अभियोग पत्र दायर भएपनि बयान नसकिएका कारण उनीहरू पुनः प्रहरी हिरासतभित्रै बस्नुपर्ने भएको छ ।

आइतबार रुकु भनिने अस्मिता कार्कीको मात्र अदालतमा बयान सकिएको छ । लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको हो ।

सोमबार १० बजेबाट पुनः बयान शुरू हुने जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए ।

सोमबार लामिछाने र कँडेलको बयान सकिएपछि मात्र थुनछेक बहस शुरु हुनेछ ।

रवि लामिछानेको समर्थनमा चितवनको भरतपुरमा हजारौँ सर्वसाधारणहरू स्वस्फुर्त रुपमा जम्मा भएका थिए । दिनभरि सुनाकोठी भन्ने स्थानमा नारावाजी र भाषण गरेका थिए ।

उनीहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत आसपासका क्षेत्रमा प्रवेश गरेर प्रदर्शन गर्न खोजेका थिए ।

केही स्थानमा आइतबार रवि लामिछानेका समर्थक र प्रहरीबीच तानातान समेत भएको थियो । रवि लामिछानेका समर्थकहरूले रिहाइको माग गरेर प्रदर्शन गर्दै आएका छन् ।

थुनछेक बहसपछि मात्रै रवि, कँडेल र कार्की धरौटीमा छुट्ने या पुर्पक्षका लागि थुनामा जाने अथवा साधारण तारेखमा छुट्ने निर्णय हुनेछ ।

चितवन प्रहरीले शालिकराम पुडासैनीले ज्यान दिएको दुरुत्साहनमा अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय चितवनमा राय पेश गरेको थियो ।

उनीहरूलाई सरकारी वकिलको कार्यालयमा पेश गरिए लगत्तै जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरी अनुसन्धानका विषयमा जानकारी गराएको थियो ।

शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि खटिएका केन्द्रीय अनुसन्धान व्यरो (सिआईबी) का एसपी दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिएका थिए ।

अनुसन्धानका क्रममा सो घटनामा ज्यान दिन दुरुत्साहन गरिएको प्रमाणहरू भेटिएसँगै सोही अनुरुप प्रमाणहरू सरकारी वकिलको कार्यालयमा पेश गरिएको रेग्मीले बताएका छन् ।

प्रहरीले लामिछाने सहित तीन जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार सम्पन्न भएको थियो ।

सरकारी वकिल कार्यालयले अदालतमा आइतबार मुद्धा दर्ता गरेकोमा अदालतमा बयान नसकिएको हुँदा अभियुक्तहरूलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा वादी र प्रतिवादीको बहस हुनेछ ।

साउन २० गते राति नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनीले ज्यान दिएको अवस्थामा भेटिएका थिए ।

अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेपछि लामिछाने सहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।

नयाँ कानूनमा ज्यान दिन बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था रहेको छ । ज्यान दिन दुरुत्साहनमा पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।

Published : Sunday, 2019 August 25, 6:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया