रविका शुभेच्छुकहरूको थामिएन मन, सडकमा उत्रिए हजारौँको संख्यामा समर्थक

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेका शुभेच्छुकहरू आइतबार चितवनको भरतपुरमा जम्मा भएका छन् ।

भरतपुरमा जम्मा हुनेमा सर्वसाधारणदेखि नाम चलेको पत्रकार, कलाकार र उच्च व्यक्तिहरू समेत रहेका छन् ।

शालिकराम पुडासैनी प्रकरणमा लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । रवि लामिछानेलाई दुई पटक पाँच–पाँच दिनका दरले म्याद थप गरेर हिरासतमा राखिएको थियो ।

अनुसन्धानको क्रममा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलाई कलाकारको टोलीले आइतबार बिहान भेट गरेका छन् ।

कलाकारहरूले चितवन प्रहरीका प्रमुख एसी दानबहादुर मल्लसँग पनि रवि लामिछानेका बारेमा जानकारी लिएका छन् ।

कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे ‘माग्ने बुडा’, निर्मल शर्मा ‘गैँडा’, नायक रमेश उप्रेतीसहितको टोलीले रवि लामिछानेलाई भेट गरेको छ ।

रवि लामिछानेसँगको भेटमा आफूहरूले न्यायालयलाई विश्वास गर्न आग्रह गरेको कलाकारहरूले बताएका छन् ।

कलाकार दीपकराज गिरीले निर्दोष व्यक्तिलाई कुनै पनि हालतमा फसाउन नहुने बताए । उनले आवश्यक पर्‍यो भने कानून संशोधन गर्न पनि सुझाव दिएका छन् ।

‘म पनि रवि लामिछानेकै जस्तो मुद्धाबाट गुज्रिएको व्यक्ति हो’, पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘न्यायालयमाथि विश्वास र भरोसा छ । उहाँले न्याय पाउनु हुन्छ । छुट्नु हुन्छ ।’

गिरीले ठूला–ठूला क्रान्तिहरू भिडले नै गरेको बताए । ‘जब जनतालाई गलत भइरहेको लाग्छ, तब जनता सडकमा आउँछ’, गिरीले भने, ‘रविजीको लागि यत्रा मान्छे सडकमा आएका छन्, ती मान्छेलाई पैसा तिरेर ट्रकमा हालेर ल्याइएको होइन, स्वत स्फूर्त रूपमा आएको हो ।’

उनले भने, ‘रविले जनताको आवाज उठाउछरबोल्छ भनेर आएको हो, हामी पनि कानुनलाई हस्तक्षेप गर्ने , दवाव दिनको लागि आएका होइनौँ ।’ गिरीले सबैभन्दा ठूलो त्रुटी कानूनमा भएको आरोप समेत लगाए ।

रविका समर्थकालाई भेडाको संज्ञा दिनेहरूलाई जनता भेडा नभएको पनि उनले बताए । उनले भने, ‘जनता भेडा होइन, परिवर्तनशीलकारी हो ।’ आफू कुनै पार्टीको नभएको र न्यायको लागि चितवन आएको गिरीले बताए ।

कलाकार दीपाश्री निरौलाले पनि रवि लामिछानेलाई फसाउने खेल भएको बताइन् । उनले रवि लामिछाने निर्दोष रहेको भन्दै अदालतले छाडिदिनेमा आफू विश्वस्त रहेको बताइन् ।
उनीहरूले रवि लामिछाने सुरक्षित रहेको र कानूनको पालना गरेका बताएका छन् ।

निरौलाले भनिन्, ‘सबैभन्दा ठूलो कुरा चाहिँ रवि दाई जुन कन्फिडेन्ट हुनुहुन्छ त्यसले पनि उहाँ निर्दाेष भएको बताउँछ, अघि मैले जाने बेला पनि भनेको थिए आज रविबार हो, त्यसकारणले गर्दा आज रविको जित हुन्छ, किन जित हुन्छ ? भन्दा जो मान्छेले गल्ती गरेको छ त्यो मान्छेमा ग्लानी हुन्छ तर रवि दाईसँग त्यो छैन ।’

उनले अब रवि नेता भएर निस्कने पनि बताइन् । ‘आज यस्तो पब्लिक रवि दाईसँग छ रवि दाईले काम गरेको हुनाले आज हामीले एउटा नेता जन्माउँदै छौँ’, उनले भनिन्, ‘रवि दाईलाई भेट्दा मलाई त्यो फिल भयो, आजको सुनुवाइले नेपाली जनतालाई खुसी दिनेछ ।’

रवि लामिछानेलाई भेटेपछि कलाकारको टोलीले कानून संशोधन गरेर भएपनि निर्दोष व्यक्तिलाई बचाउनुपर्ने बताएका थिए ।

रवि लामिछानेको समर्थनमा रिहाइको माग गरेर भरतपुरमा आइतबार पनि उल्लेख्य सर्वसाधारणहरूको उपस्थिति रहेको छ ।

समर्थकहरूबाट हुने सक्ने प्रदर्शन र झडपलाई ध्यानमा राखेर प्रहरीले उच्च सुरक्षासर्तकता अपनाएको छ ।

केही स्थानमा सुरक्षाकर्मीसँग रवि लामिछानेका शुभेच्छुकहरूको धक्कापक्का समेत भएको छ । शुभेच्छुकहरूले नारावाजी गर्नुका साथै रिहाइको माग गरेका छन् ।

हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले भने, ‘उहाँ नेता हुनलाई योग्यता पुगेको थिएन तर मिलाई मिलाई पु¥यादिए, त्यसैले रवि नेता भई नै सक्नुभयो ।’

Published : Sunday, 2019 August 25, 2:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया