फाइल सरकारी वकिलको कार्यालय पुग्यो, चितवनमा रविका समर्थककाे जनसागर

भरतपुर । शालिकराम पुडासैनी प्रकरणको विषयमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा दुरुत्साहनको मुद्दा पेस गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान टोलीका उपरीक्षक दीपक रेग्मीले आइतबार पत्रकार सम्मेलन गरेर अनुसन्धान पूरा भएको जानकारी दिए । उनले पुडासैनी प्रकरणको दुरुत्साहन मुद्दा सरकारी वकिलको कार्यालयमा पेस गरेको जानकारी दिएका छन् ।

उपरीक्षक रेग्मीले अनुसन्धान सकाएर फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिएका छन् ।

रेग्मीले अब अगाडिको प्रकृयाको टुंगो लगाउनुपर्ने जिम्मा सरकारी वकिलको कार्यालयको हुने बताए ।

रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई सरकारी वकिलको कार्यालयले अदालतमा पेस गर्नेछ ।

उता, रवि लामिछानेका समर्थकहरूले भरतपुर बजार भरिएकाे छ । स्वस्फुर्त रूपमा हजाराैँ सर्वसाधारणा भरतपुरमा जम्मा भएका छन् । उनीहरूले रवि लामिछानेकाे पक्षमा नारावाजी गरेका छन् ।

अनुसन्धान पूर्ण भइसकेको अवस्थामा जिल्ला सरकारी कार्यालयले फाइलको अध्ययन गरी को–कसलाई मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय गर्नसक्छ ।

सरकारी वकिललाई प्रहरीले गरेको अनुसन्धानमा थप केही प्रमाणहरू चाहिने वा अनुसन्धान गर्नुपर्ने लागेमा प्रहरीलाई थप अनुसन्धानका लागि फाइल फिर्ता पठाउन सक्छ ।

सरकारी वकिललाई प्रहरीले गरेको अनुसन्धान र प्रमाणका आधारमा आरोपीहरूलाई अभियोजन गर्न सकिँदैन भन्ने लागेमा मुद्दा नचालउने सिफारिस गर्न सक्छ ।

जिल्ला सरकारी कार्यालयले मुद्दा नचलाउने सिफारिस गरे त्यो फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताले सदर गर्नुपर्ने हुन्छ । यस्तो अवस्था आएमा प्रहरीले आरोपीहरूलाई थुनामुक्त गर्नसक्छ ।

हिरासतमा लिएको व्यक्तिलाई अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद थप गर्दै २५ दिनसम्म हिरासतमा राख्न पाउने कानूनी प्रवधान छ ।

चितवन प्रहरीले रवि लामिछाने लगायतलाई अनुसन्धान गर्न अदालतबाट दुई पटक गरेर १० दिनको समय लिएको थियो ।

मुद्दा दायर भएमा अदालतमा अभियुक्तलाई साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुने गर्दछ ।

प्रचलित कानूनअनुसार ज्यान दिन दुरुत्साहन मुद्दामा दोषी भएमा ५ वर्ष कैद र ५० हजार जरिवाना हुने व्यवस्था रहेको छ ।

Published : Sunday, 2019 August 25, 1:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया