जहाजभित्र काण्ड मच्चाउने भीआइपी विमानस्थलबाट निकाला

काठमाडौं । अत्यधिक रक्सी खाएर होहल्ला गरेपछि प्रहरीले गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकाला गरेको छ ।

शनिबार राति सिल्क एयरबाट सिङ्गापुर जान लागेका अध्यक्ष भट्ट र शुभदिन अनलाइनका सञ्चालक सनत न्यौपाने अत्यधिक रक्सी सेवन गरी जहाजभित्र अभद्र व्यवहार गरेको प्रहरी स्रोतले जनाएको छ ।

उनीहरूको गतल हर्कत देखेपछि प्रहरीले भट्ट र न्यौपानेलाई फिर्ता पठाइदिएको स्रोतले जनाएको छ ।

सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ बोइङ विमानबाट शनिबार राति १० बजे सिंगापुर जान लागेका उनीहरूलाई विमानभित्र बसिसकेको अवस्थामा फर्काइएको थियो ।

एनआरएनए अध्यक्ष भट्ट र शुभदिन अनलाइनका सञ्चालक न्यौपानेलाई धेरै रक्सी सेवन गरिएको भन्दै सबै प्रक्रिया पूरा गरी विमानमा बसिसकेको अवस्थाबाट फर्काइएको विमानस्थल प्रहरीले बताएको छ ।

उनीहरूले रक्सी सेवन गरी अभद्र व्यवहार गरेपछि एयरलाइन्सले उनीहरूसहित उडान गर्न नसक्ने बताउँदै फर्काएको स्रोतको दाबी छ ।

घटनापछि अध्यक्ष भट्ट र न्यौपानेले आफूहरूले रक्सी सेवन गरेको स्वीकार गरेका छन् ।

Published : Sunday, 2019 August 25, 9:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया