रविको पक्षमा एकजुट भए कलाकारहरू, रविलाई बचाउन कानून संशाेधन गर्न सुझाव

काठमाडौं । कलाकारहरूले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लव नेपालले काठमाडौंमा शनिबार आयोजना गरेको साक्षत्कार (पत्रकार सम्मेलन)मा बोल्ने क्रममा कलाकारहरूले लामिछानेलाई फसाउन खोजिएको दाबी गरे ।

उनीहरूले शालिकराम पुडासैनी प्रकरणमा रवि लामिछानेको संलग्नता नहरेको जनाए ।

कलाकारहरूले कानूनलाई संशोधन गरेर भएपनि रवि लामिछानेलाई बचाउनुपर्ने बताए । उनीहरूले पूर्वाग्रही भएर रवि लामिछानेलाई फसाउन नहुने बताएका छन् ।

कलाकार दीपकराज गिरीले रवि लामिछाने शालिकराम पुडासैनी प्रकरणमा निर्दोष रहेको बताए । ‘रवि लामिछाने निर्दोष छन् । रवि लामिछानेका लागि यो कानूनलाई फेर्नुपर्छ भने पनि फेर्नुपर्छ’, उनले भने, ‘रवि लामिछानेलाई हिरासतमा राखेर राज्यले खलनायक बनाउन खोजेको छ ।’

दुनियाको आँशु पोच्छे रवि लामिछाने कसैको पनि दोषी हुन नसक्ने उनले बताए । ‘विदेशमा दुःख पाएका हाम्रा चेलीबेटीदेखि दाजुभाईको उद्धारमा आफै खटिनुभएको छ । यस्तो व्यक्ति दोषी हुनै सक्दैन ।’

नायक निखिल उप्रेतीले पनि राजनीतिक रंग नदिएर रवि लामिछानेको पक्षमा सबै उभिनु पर्ने बताए । उनले रवि लामिछाने शालिकराम प्रकरणमा दोषी नरहेको बताए ।

कार्यक्रममा सहभागी नायक रमेश उप्रेती, निर्मल शर्मा ‘गैंडा’लगायतका कलाकारहरूले पनि रवि लामिछानेको पक्षमा सबैले वकालत गर्नुपर्ने बताए । उनीहरू रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गरेको भए हुने बताए ।

पत्रकार ऋषि धमलाले पनि रवि लामिछाने निर्दोष रहेको बताए ।

Published : Saturday, 2019 August 24, 1:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया