बिग्रिएको छवि सुधार गर्दै देउवा, असन्तुष्ट नेताहरूकाे साथ लिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद, केपी ओली र पुष्पकमल दाहाल खिचातानीले अर्को पटक सत्तामा जाने सोँच बोकेर बसेका नेपाली कांग्रेसका नेताहरूको बुद्धिमा घाम लाग्न थालेको छ ।

सभापति शेरबहादुर देउवाको कमीकमजोरीका कारण गत निर्वाचनमा कांग्रेसले हार व्यहोर्नु परेको थियो । त्यो हारको घाउ सेलाउन पाउँदै कांग्रेसभित्र गुट र उपगुटको लडाइँ उग्र हुँदै गएको छ ।

देउवाविरोधी समूहका रुपमा चिनिएका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, डा.शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसीसहितका नेताहरू संगठन गर्नेभन्दा पनि सभापति देउवालाई गाली गरेर दिन काट्ने गरेका छन् ।

उनीहरूले नेपाली कांग्रेसको संगठन बनाउने विषयमा खासै ध्यान दिएका छैनन् । कांग्रेसको संगठन सभापति देउवाले मात्रै बनाउने ठेक्का ठानेका उनीहरू सार्वजनिक रुपमा नेतृत्वको आलोचना गर्न पछाडि पर्दैनन् ।

हुन त देउवाका आसेपासेहरू पनि कम्तिका छैनन् । मौका पाउँदा देउवाविरोधी गुटका नेताहरूको उछितो काड्न पछाडि पर्दैनन् । विमलेन्द्र निधि, डा.प्रकाश शरण महत, मीनबहादुर विश्वकर्मालगायतका नेताहरू देउवाका लागि घातक बन्दै गएका छन् । निधिले देउवाको गुट छाड्ने बेलाबेला सकेत गरे पनि हच्किने गरेका छन् ।

१४औँ महाविधेशनमा नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नै दोहोरिने संकेत देखा पर्न थालेको छ । देउवाले आफूलाई आगामी सभापतिका लागि तयारी अवस्थामा राखेका छन् । उनले सोही अनुसारका गतिविधि थालेका छन् ।

१४औँ महाविधेशन अबको एक वर्षपछि हुनेछ । त्यस बेलासम्म देउवाले वडादेखि प्रदेशका सबै संरचना बनाइ सक्नुपर्नेछ । त्यस बेला सकेसम्म आफू निकटका नेतालाई देउवाले स्थान दिनेछन् । त्यति मात्रै होइन देउवाले आफ्ना विरोध नेताहरूलाई पनि स्थान दिनेछन् ।

देउवा विरोधी नेताहरूबाट सर्वसम्मत सभापतिको उम्मेदवार आउने सम्भाना निकै कम छ । सिटौलाले डा.शेखर कोइरालालाई उचालेर सभापतिमा उठाउने तयारी गरेका छन् ।

डा.शेखर कोइरालाले देउवालाई हराउने क्षमता राख्दैनन् । बरु महामन्त्री डा.शशांक कोइराला सभापतिको उम्मेदवार बने भने देउवालाई अफ्ठ्यारो बनाउन सक्छन् । तर, देउवा विरोधी गुटबाट सर्वसम्मत एउटा मात्रै उम्मेदवार बन्ने सम्भावना छैन । प्रकाशमान सिंहले पनि देउवालाई सभापतिमा चुनौती दिन सक्ने क्षमता राख्दैनन् ।

देउवाका लागि सभापति बन्न यस पटक सबैभन्दा सजिलो हुनेछ विजय गच्छदारका कार्यकर्ता र प्रतिनिधिहरू । देउवाले गच्छदारको लोकतान्त्रिक फोरमलाई रिर्जभमा राखेका छन् ।

गच्छदारका नेताहरूमार्फत देउवालाई सहजता प्राप्त हुनेछ । गच्छदारका नेता तथा कार्यकर्तालाई समायोजन गर्दासम्म ढिलाइ भयो भने त्यसको उल्टो असर पर्ने सम्भावना पनि उत्तिकै छ ।

गच्छदारका नेता तथा कार्यकर्तालाई समायोजन गर्न देउवा लचक भएपनि विमलेन्द्र निधि तयार छैनन् । सकेसम्म समायोजनको प्रक्रियालाई लम्बाएर गच्छदारलाई कमजोर बनाउने निधिको रणनीति छ ।

निधिको यो हर्कत देउवाका लागि सबैभन्दा ठूलो घातक अस्त्र हुनेछ । देउवालाई कुनै समस्या भयो भने निधिकै कारण हुनेछ । कार्यकर्ता संरक्षणमा रुचि नदेखाउने निधिले आफूलाई पार्टीभित्र सुधार गरेर लैजानुपर्नेछ । अन्यथा उनको अवस्था नजुक बनेर जानेछ ।

निधिले जस्तै रुखो व्यवहार गर्नेमा प्रकाशमान सिंह पनि अग्रस्थानमा छन् । नेता सिंहले आफूभन्दा जानेबुझ्ने नेता कांग्रेसभित्र कोही पनि छैन भन्ने ठान्छन् । उनको यो अहँताले आफूलाई नोक्सान बनाउनेछ ।

यता, उपनिर्वाचनको परिणामले अर्को निर्वाचनमा नेपाली कांग्रेसको कस्तो पोजिशन आउँछ भन्ने देखाउनेछ । उपनिर्वाचन जित्नका लागि पनि नेपाली कांग्रेसका नेताहरू मिल्नैपर्छ ।

अहिले देखिनै गाउँ गाउँमा प्रवेश गरेर आफ्नो पक्षमा माहोल बनाएकै उचित हुन्छ । सभापति देउवाले पोखरामा भनेको कुरालाई कांग्रेसका नेता तथा कार्यकर्ताले मनन गर्नुपर्छ ।

उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरू विजयी भए पनि त्यहीँबाट एकताको प्रक्रिया शुरु हुनेछ । अन्यथा कांग्रेसको हबिगती उस्तै रहनेछ ।

Published : Friday, 2019 August 23, 11:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया