घटुवामा परेका नेकपाका ठूला नेता खुमलटारको शरणमा

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष खड्गप्रसाद ओलीसँग भनाभन भएको अर्को दिन वरिष्ठ नेता माधवकुमार नेपाल दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार निवासमा पुगेका छन् ।

दाहाल र नेपालबीच शुक्रबार बिहान गोप्य भेटवार्ता भएको छ । नेता नेपाल बिहान साढे ९ बजे दाहाललाई भेट्न पुगेको उच्च स्रोतले जनाएको छ । यो भेटमा अर्का नेता जनार्दन शर्मा पनि सहभागी थिए ।

ओलीले कार्यकारी अधिकार दिएर उपचार गर्न सिंगापुर गएको भोलिपल्टदेखि नै दाहालले आफ्नो सक्रियता देखाएका छन् ।

बिहीबारको केन्द्रीय सचिवालयको बैठकमा ओली र नेपालबीच भनाभन भएको थियो ।

पार्टीभित्र घटुवामा परेका नेता नेपाललाई दाहालले आफूतिर तान्ने प्रयास गरेका छन् ।

ओली र नेपालबीच कटुता बढ्दै गएका बेला दाहाल शक्तिशाली बन्ने प्रयासमा छन् । ओली मुलुकमा नभएका बेला दाहालले पार्टीभित्रको समीकरणलाई आफू अनुकूल बनाउन राजनीतिक सक्रियता देखाएको चर्चा छ ।

प्रधानमन्त्री एवम् अध्यक्ष ओली सिंगापुर प्रस्थान गर्नु अगाडि दाहाललाई कार्यकारीको अधिकार दिएका थिए ।

Published : Friday, 2019 August 23, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया