मन्त्रीको पावरले सन्नाटा, बैठकमा चर्काचर्की

काठमाडौं । दुईतिहाइको कम्युनिस्ट सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सम्बन्धित मन्त्रीको उपस्थितिमा मात्रै मन्त्रालय र त्यससँग सम्बन्धीत विषयको निर्णय गर्न संसदीय समितिलाई दबाब दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सिंहदरबारमा बिहीबार बसेको बैठकमा मन्त्री यादवले आफ्नो अनुपस्थितिमा मन्त्रालय मातहका विषयमा निर्णय नगर्न सभापतिलाई चेतावनी नै दिएका हुन् ।

समितिका सभापति विमल श्रीवास्तवले सम्बन्धित विषयमा सरोकार राख्ने पक्षसंग छलफल, राय, सुझाव लिए पनि निर्णय गर्दा मन्त्री नै राख्नुपर्ने प्रावधान नरहेको बताएका थिए ।

त्यसपछि मन्त्री यादव आक्रोशित बनेका थिए । मन्त्रीको आवश्यकता नपर्ने भए म किन बस्ने ? भन्दै यादव बसेको कुर्सीबाट उठेका थिए । बैठक छोडेर मन्त्री बाहिरिन खोजेपछि केहीबेर स्थिति असहज बनेको थियो ।

समितिका सदस्यहरूको आग्रहमा ढोकाबाट फकिएका मन्त्री यादवले मिडियाप्रति पनि आक्रोस पोखेका छन् ।

मन्त्री यादवले कस्तो समाचार लेख्ने कस्तो नलेख्ने सिकाउनुका साथै मिडियालाई कुन समाचार दिने, कुन नदिने भन्ने बारेमा निर्देशन दिन सभापतिको ध्यानाकर्षण गराएका छन् ।

औद्योगिक व्यवसाय सम्बन्धी विधेयकमा छलफलका लागि बसेको बैठकको शुरुदेखि नै तनाबपूर्ण बनेपछि समिति सदस्यहरूले समितिको संवैधानिक अधिकार, संसदीय पद्धती, क्षेत्राधिकार लगायतका बारे आवयक ज्ञान राख्न मन्त्रीलाई सुझाएका छन् ।

समितिको क्षेत्राधिकारका विषयमा बैठकमा चर्काचर्की भएको थियो । अर्को बैठक शुक्रबार बस्नेछ ।

Published : Thursday, 2019 August 22, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया