कांग्रेसले दोस्रो चरणको जागरण अभियान चलाउने, पार्टी बलियाे बनाइने

काठमाडौं । नेपाली कांग्रेसले ३ सय ३० वटा प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको जनजागरण अभियान गर्ने भएको छ ।

नेपाली कांग्रेसले ७७ जिल्ला, सबै प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा जागरण गर्ने लक्ष्यअन्तर्गत २४ भदौबाट १० असोजसम्म प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा जागरणको तयारी गरेको छ ।

यसअघि नेपाली कांग्रेसले ७७ वटै जिल्लामा पहिलो चरणअन्तर्गत २५ वैशाखबाट २५ जेठसम्म एकमहिने जागरण चलाएको थियो ।

दोस्रो चरणअन्तर्गत ३३० वटै प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा अभियान आयोजना गरिनेछ ।

३३० वटै प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको जागरण हुँदै छ । जागरणमा पदाधिकारीसहित केन्द्रीय तहका नेता, सांसद, पूर्वसांसद तथा पूर्वकेन्द्रीय सदस्यहरू प्रतिनिधिका रूपमा सहभागी हुनेछन् ।

नेपाली कांग्रेसले संगठन सुदृढीकरण, सरकारविरुद्ध गतिविधिलगायतका १५ वटा मुख्य मुद्दालाई लिएर जनजागरण अभियान शुरु गरेको छ ।

नेपाली कांग्रेसले तेस्रो चरणको अभियान भने ७ पुसदेखि १६ गतेसम्म अर्थात् १० दिन ७५३ वटै स्थानीय तहमा जनजागरण अभियान गर्ने लक्ष्य लिएको छ ।

जागरण अभियानमार्फत कांग्रेसले महासमितिबाट पारित विधानसहितका दस्तावेजबारे कार्यकर्तालाई सुसूचित गर्ने, नेता कार्यकर्ताबीच एकता बढोत्तरी गर्ने, जागरण अभिवृद्धि गर्ने, कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धि जनताबीच सम्प्रेषण गर्ने, संविधान संशोधनबारे जनमत सिर्जना गर्नेलगायतका उद्देश्य लिएको छ ।

नेपाली कांग्रेसले पहिलो चरणको जागरण अभियानबाट पार्टीका कार्यक्रमलाई सभ्य बनाउन पार्टीका गतिविधिमा बोल्ने वक्तालाई समेत नियन्त्रणको नीति लिएको छ ।

नेपाली कांग्रेसले पहिलो चरणको जागरणबाटै प्रमुख वक्ता, महिला वक्ता र कार्यक्रमका सभापतिलाई मात्रै वक्ताका रूपमा राख्ने रणनीति लिएको हो ।

देशैभरि हुने जागरण कार्यक्रमका लागि ब्यानर तथा पर्चासमेत एकै प्रकारको प्रयोग गरिने नीति कांग्रेसले लिएको छ ।

नेपाली कांग्रेसले पार्टीको कार्यक्रममा ब्याच र मालालाई समेत प्रतिबन्ध लगाएको छ ।

गत निर्वाचनमा पार्टीले बेहोरेको हारपछि कार्यकर्तामा देखिएको निराशालाई उच्च पार्नसमेत जागरण अभियान फलदायी हुने लक्ष्य नेपाली कांग्रेसको छ ।

कांग्रेसले अभियानका लागि आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि खटाइसकेको छ ।

Published : Thursday, 2019 August 22, 11:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया