रवि लामिछानेकाे भित्री कथा र काण्ड

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानका विरुद्ध मुलुकका विभिन्न भागमा भएका छुट्टाछुट्टै गतिविधिले समाजलाई अराजकतातर्फ लैजान थालेको छ ।

संविधान जारी भएपछि त्यसको कार्यान्वयनको लागि कानून निर्माणमार्फत परिवर्तनलाई संस्थागत गर्ने कार्य भइरहेको बेला एका दुई घटना र प्रकरणलाई लिएर यतिवेला विभिन्न शक्ति केन्द्रले चलखेल बढाउन थालेका छन् ।

सरकारले नागरिकलाई दिने सेवा, सुविधा र समृद्धिको बाटोमा देखिएका अन्योल र कमजोरीलाई देखाएर संघीयता, गणतन्त्र र संसदीय लोकतन्त्रमाथि प्रहार हुन थालेका छन् ।

संविधान जारी गर्दा त्यसमा हस्ताक्षर गर्ने र गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यकारी पदमा पुगेका दलका नेता समेत यतिवेला परिवर्तन उल्टाउने रणनीतिमा लागेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई देखाएर गणतन्त्र र धर्मनिरपेक्ष मुलुकमा हिन्दुराज्यको नाममा हिन्दु राजाको आवश्यकता परेको भन्दै राप्रपा जस्ता राजनीतिक दल यतिवेला संविधानकै विरुद्ध गतिविधिमा लागेको छ ।

चितवनमा हालै भइरहेको अराजक गतिविधिले पनि राज्य व्यवस्था र संविधानमाथि ठाडो प्रहार भइरहेको छ । जनताको अभिमत आफ्नो पक्षमा नदेखिएपछि कमल थापाले नेतृत्व गरेको राप्रपा र पशुपति शम्शेर राणा तथा डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको राप्रपा (संयुक्त) यतिबेला संवैधानिक राजतन्त्रसहित हिन्दु राज्यको पक्षमा देशब्यापी अभियानमा छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार थाइल्याण्डको बैंकमा रहेको बेला उनकै भक्तहरुले यतिवेला अनेकौं बहाना र समाजमा देखिएका केही कमजोरीलाई लिएर व्यवस्थाप्रति नै प्रहार गरिरहेका छन् ।

विगतको लामो हिंसात्मक द्वन्द्वबाट मुलुक शान्तिपूर्ण राजनीतिमा आईरहेको बेला नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अघि सारेको उग्रवामपन्थी क्रियाकलापले शान्ति प्रकृयालाई समेत अप्ठ्यारोमा पार्ने गरेको स्वयं सत्तारुढ नेकपाका नेताहरूले बताउने गरेका छन् ।

बुधबार प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएको छलफलमा समेत संविधान र राजनीतिक परिवर्तनमाथि हस्तक्षेप र दुष्प्रचार हुन थालेका छन् भन्ने विषयमा छलफल केन्द्रित भएको थियो ।

राजनीतिक परिवर्तन र उपलब्धीलाई कमजोर बनाउने, उल्टाउने र पुरानै राजसंस्थाको नाममा मुलुकलाई अन्धकारमा धकेल्न चाहने शक्तिले चलखेल गरेको आभाष पछिल्ला गतिविधिले देखाउन थालेको छ ।

सरकारका मन्त्री मात्र होइन राजनीतिक परिवर्तनमाथि नै प्रहार हुन थालेपछि प्रधानमन्त्री ओलीले समेत सरकारको नेतृत्व गरेको १७ महिनापछि पहिलो पटक बुधबार सर्वदलीय छलफल बोलाएर संविधानको कार्यान्वयन गर्न र परिवर्तनको रक्षा गर्न एकै ठाउँमा उभिने प्रतिवद्धता जनाइए सकेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो प्रतिगमन र शाही शासनकालमा जारी गरेका वक्तव्यकाे संकलनलाई पुस्तकको रुपमा सार्वजनिक गरेपछि गणतन्त्र र संघीयताबिरोधीहरूले गतिविधि बढाएका छन् ।

यसको पछिल्लो उदाहरणको रुपमा न्युज २४ टेलिभिजनमा कार्यरत सञ्चारकर्मी रवि लामिछानेमाथि प्रहरीले अनुन्धान गर्न नियन्त्रण लिंदा देखिएको प्रतिक्रियालाई लिन सकिन्छ ।

अमेरिकाबाट मासिक लाखौंको आम्दानी छोडेर नेपाल आएका रवि आफू र उनका अनुयायीले यो साता देखाएको हर्कतलाई लिन सकिन्छ ।

दुई महिनाअघि न्युज २४ बाट माउण्टेन टेलिभिजनमा काम गर्न थालेका पत्रकार शालिकराम पुडासैनी घटनामा रविले ज्यान दिनको लागि दुरुत्साहन गरेको भिडियो रिपोर्ट बाहिरिएपनि रविका समर्थकहरूले प्रहरीको अनुसन्धान कार्य र अदालती प्रकृयामा गरेको अबरोधलाई समेत राज्यशक्तिमाथिको चुनौतीको रुपमा सरकारले लिएको छ ।

फौजदारी कानून अनुसार पत्रकार पुडासैनीले ज्यान दिनुअघि आफूलाई ज्यान दिन उनै रविले बाध्य बनाएको भिडियो सार्वजनिक भएको थियो ।

अनुसन्धानको लागि रवि र उनका सहयोगी युवराज कँडेल र ज्यान दिनु पूर्व पुडासैनीले नाम लिएकी अस्मिता भनिने रुकु कार्कीलाई प्रहरीले नियन्त्रणमा लिए पछि उनका समर्थकले दिनहुँ नारा जुलुस गरिरहेका छन् ।

रविका समर्थकले उनलाई प्रहरीले नियन्त्रणमा लिन नहुने भन्दै प्रहरी, प्रशासन र अदालतलाई समेत दबाब दिइरहेका छन् । पुडासैनीले ज्यान दिनुअघि रेकर्ड गरेको भिडियोलाई समेत कहिले नक्कली र कहिले दबाबमा त्यो रेकर्ड गर्न लगाएको भन्दै रविको रिहाईको माग गरेका छन् ।

प्रहरीले कानून बमोजिम अनुसन्धान गर्न नपाउने भन्दै रविका समर्थकले गरेको प्रदर्शन र दबाबलाई नागरिक समाजका अगुवा र कानूनका ज्ञाताहरूले कानूनी शासन र विधिकोविरुद्धमा भएको आरोप लगाउन थालेका छन् ।

लोकतान्त्रिक मुलुकमा कुनै पनि घटनाको छानबिन, अनुसन्धान तहकिकात र फैसला दिने निकाय फरक हुन्छ । यदि भीड र जुलुसको माग बमोजिम रविलाई अनुसन्धान नै नगरी छोडिदिने हो भने न्यायालय र प्रहरीको भूमिका के हुने ? भन्ने गम्भीर शंका उब्जाएको छ ।

रवि लामिछानेका समर्थकले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत चितवन अगाडि गरेको प्रदर्शनले व्यक्तिको विरोध र आलोचना मात्र नभएर व्यवस्थाप्रतिकै प्रहारको रुपमा मुख्य राजनीतिक दलहरूले लिन थालेका छन् ।

रविका समर्थकहरूले ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाउँदै वर्तमान सरकारका मन्त्री र राजनीतिक दलका शीर्ष नेतामाथि प्रहार गरेका छन् ।

राजनीतिक दल, नेता र सांसदलाई गाली गर्ने रवीका समर्थकले राजाको पक्षमा नारा लगाउनुले रविको नाममा वर्तमान व्यवस्था र कानूनलाई नै असफल बनाउने प्रयासको रुपमा लिइएको छ ।

संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता विरोधी दलको रुपमा स्थापित कमल थापा नेतृत्वको राप्रपामा उनै रवि लामिछानेका ससुरा कोषाध्यक्ष छन् ।

कतै रविको सम्वन्ध कमल थापासँग एउटै पार्टी समितिमा बसेका नयाँ ससुरा उद्धव पौडेलसँग नहोला भन्न सकिन्न ।

आफ्नी श्रीमतीसँग सम्वन्ध विच्छेद गरेर उद्धव पौडेलकी छोरी निकितासँग लगनगाँठो गाँसेका रवि उनै कमल थापासँगको साइनोमा तानिएर सरकार र राज्य व्यवस्थालाई नै चुनौति दिइरहेका त छैनन् भन्ने आशंका गर्न सकिन्छ ।

(यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2019 August 22, 7:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया