सीटीइभीटीको करोडौं बजेट हिनामिना, दोषीलाई संरक्षण

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत कार्यालयहरुमा ठूलो मात्रामा बजेट हिनामिना भएको छ ।

सीटीइभीटीका शिक्षालय र प्रदेश कार्यालयहरुले बजेट ब्यापक रुपमा दुरुपयोग गरेका हुन् । सीटीइभीटीको प्रदेश २ र वीपी पोलिटेक्नीक धनुषाको नाममा राष्ट्रिय बाणिज्य बैंक धनुषा शाखामा जम्मा भएको रकम दुबै तर्फ गरी ९३ लाख रकम मात्र झिकेको भनिएपनि यथार्थमा २ करोड झिकिएको सीटीइभीटी स्रोतले जनाएकाे छ ।

सो कार्यमा प्रदेश २ का कार्यालय प्रमुख नागेन्द्र साह, लेखापाल ब्रम्हदेब ठाकुर तथा बीपी पोलिटेक्नीकका राजेन्द्र चौधरी र प्रविन ठाकुर समेत गरी ४ जना संलग्न रहेको स्रोतको दावी छ । ठाकुरले बैंकबाट नगद झिकेर सबैलाई बाडेको बताइएको छ ।

यस सम्बन्धमा सीटीइभीटीले छानवीन टोली पठाइसकेको छ । तर, उक्त टोलीले दिएको प्रतिवेदन सार्वजनिक गरिएको छैन । सो कार्यमा संलग्न कर्मचारीहरुलाई अहिलेसम्म पनि कारबाही गरिएको छैन ।

उनीहरूलाई उल्टै प्रवेश परीक्षा सञ्चालन गरी नतिजा प्रकाशन गर्ने महत्वपूर्ण जिम्मेवारी समेत दिइएको छ । भ्रष्टहरुलाई जोगाउने मनसायले टोली गठन गरिएको आशंका छ । छानविन टोलिमा मणि भट्टराई, उमेश खरेल र ध्रुब मरहट्टा रहेका थिए ।

यस घटनामा बैंकको केही कर्मचारीको पनि मिलिमतो हुनसक्ने आशंका गरिएको छ । यति ठूलो आर्थिक घोटलामा सीटीइभीटीका सदस्य सचिव पुष्परमन वाग्ले र प्रशसनका निर्देशक महेश भट्टराई पनि मुछिएका छन् ।

त्यसो त सप्तरीमा सञ्चालन भएको सीटीइभीटीको प्रबेश परीक्षामा प्रश्न पत्र बाहिरिदा पनि लाखौं आर्थिक चलखेल गरी निरीक्षकलगायत सबै सबैको मिलिमतोमा परिक्षा सञ्चालन गरिदा पनि त्यसबारेमा सीटीइभीटीले मुख खोलेको छैन ।

त्यसैगरी सीटीइभीटीको गण्डकी प्रदेश कार्यालयमा पनि ब्यापक भ्रष्टाचार भएको छ । सो कार्यालयका प्रमुख भुबनेश्वर ढुंगाना, लेखा प्रमुख भोजराज ढुंगाना र उपप्रमुख हर्कलाल श्रेष्ठको मिलिमतोमा भ्रष्टाचार भएको जनाइएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा छोटो अवधिको तालिम सञ्चालनका लागि बिभिन्न संस्थाहरुबाट लाखौ रुपैयाँ उठाइएको छ ।

छोटो अवधिको तालिम सञ्चालन गर्ने कार्यविधि अनुसार नेपाल सरकार र परिषद् कार्यालयले तालिमको लागि बजेट तयार गरेर बिनियोजन गरेकोमा प्रत्येक तालिमबाट मोनिटोरिङ शिर्षकमा बिनियोजन गरेको करोड भन्दा बढी रकम तालिम सञ्चालन गर्ने शिक्षालयहरुलाई निकाशा नदिई प्रदेश कार्यालयमा राखिएको र नियम बिपरित खर्च गरेको देखाइएको स्रोतको दावी छ ।

यस बारेमा परिषद् कार्यालयलाई जानकारी भएपनि छानविन गर्ने कुनै छाँट देखाएको छैन । परिषद् कार्यालयमा रकम बुझाउनु पर्छ भनी तिनै जनाले झण्डै १ करोड रकम उठाएको जानकारी प्राप्त भएको छ । कार्यालय प्रमुख र लेखा प्रमुख दाजुभाइ हुन् भने उपप्रमुख हर्कलाल श्रेष्ठ सदस्य सचिब पुष्परमण वाग्लेका छिमेकी हुन् ।

शक्ति र सत्ताको कारण उनीहरुमाथि कसैले पनि कारबाही गर्ने आँट गरेका छैनन् । तनहुँको कालिगण्डकी पोलिटेक्नीकमा घोटला भएको छ ।

भर्खरै मात्र सञ्चालनमा आएको उक्त पोलिटेक्नीकका प्रमुख गोबिन्द पौडेल र लेखापाल इन्द्रप्रसाद ढुंगानाको मिलेमतोमा पुरानो मोटरसाईकललाई नयाँ भनी खरिद गरेर नयाँको बील बनाई भुक्तानी गरिएको छ । यसमा सम्बन्धित निकायले छानविन गर्नुपर्ने माग गरिएको छ ।

आफ्नो क्षमता नहुँदा नहुँदै पनि छोटो अबधीको तालिम २१ ठाउमा सञ्चालन गर्ने गरी प्रदेश कार्यालयसँग सम्झौता गरी कार्यक्रम ल्याईएको छ । तर, सबै तालिमहरु नवलपरासीलगायतका स्थानहरुमा ठेक्कामा सञ्चालन गर्न दिई ठूलो रकम उठाइएको छ । तालिमेहरु नै नभएको स्थानमा समेत हाजिरी मिलाएर रकम हिनामिना गरिएकोप्रति पनि सीटीइभीटी मौन छ ।

टीकापुर पोलिटेक्नीकमा पनि भ्रष्टाचार बढिरहेकै छ । प्रमुख टेकेन्द्रबहादुर थापाले विनियोजन भएको बजेट भन्दा १ करोड बढी खर्च गरी भ्रष्टाचार गरेका छन् । नियम कानून पूरा नगरी सामानहरू खरिद गरिएको छ ।

टेण्डर, सिलवन्दी कोटेशन, र लिखित दररेट माग गरी खरिद गर्नुपर्नेमा ती कुनैपनि पालना गरिएको छैन । सीटीइभीटीका केही कर्मचारीहरुको आडमा यस्ता गतिबिधीहरु सञ्चालन भैरहेका छन् ।

अर्कोतिर, कर्णाली प्रदेशमा पनि अनियमितता भइरहेको छ । सीटीइभीटी कर्णाली प्रदेशका तत्कालिन प्रमुख भीमकान्त लामिछाने ब्यापक भ्रष्टाचार गरेपछि उनलाई कारवाही गर्नुपर्नेमा परिषद् कार्यालयमा सरुवा गरिएको छ ।

उपेन्द्र शाहीको संस्थालाई तालिम सञ्चालन गर्न दिनको लागि उनकै दाजु मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दवाव र धम्की दिएकोले अहिले पनि त्यहाँ काम गर्न अप्ठेरो भएको गुनासो कर्मचारीहरुको छ ।

सीटीइभीटीले हालै सञ्चालन गरेको आर्थिक वर्ष २०७६/०७७ को प्रवेश परीक्षाको नतिजा प्रकाशनमा गण्डकी प्रदेशमा ब्यापक गोलमाल भएको छ ।

भर्नाको लागि कोटा छुट्याएर मात्र नतिजा प्रकाशन गर्नु पर्नेमा सो नगरी जथाभावि तरिकाले प्रवेश परिक्षाको नतिजा प्रकाशन गर्दा शिक्षालयहरुलाई नै अप्ठेरो परेको छ ।

यूनाइटेड पाेस्ट साप्ताहिकबाट साभार

Published : Thursday, 2019 August 22, 7:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया