रवि लामिछानेसहित ३ जनाको बयान सकियो, मंगलबार अदालतमा पेस गरिने

भरतपुर । पत्रकार शालिकराम पुडासैनी प्रकरणमा दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाको बयान लिने क्रम सकिएको छ ।

चितवन जिल्ला सरकारी वकिलको उपस्थितिमा सञ्चारकर्मी लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’को सोमबार बयान लिइएको हो । चितवन प्रहरीका प्रमुख दानबहादुर मल्ले तीन जनाको बयान लिने क्रम सकिए पनि अदालतमा मंगलबार पस गरिने बताए ।

पुडासैनी प्रकरणमा दुरुत्साहन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका लामिछाने, कँडेल र कार्कीलाई बयान लिइएको थियो । पक्राउ परेका तीन जनासँगको बयान सकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आवश्यक थप अनुसन्धान गर्नुपर्ने भएकाले मंगलबार म्याद थपका लागि प्रहरीले तीन जनालाई जिल्ला अदालत चितवन लैजाने तयारी गरेको छ ।

पाँच दिनको म्याद सोमबार मध्य राति १२ बजे सकिँदैछ । पोष्टमार्टम रिपोर्ट सोमबार पुगेकाले अदालतले थप अनुसन्धानका लागि म्याद थप्ने अनुमान गरिएको छ ।

लामिछानेका समर्थकले सोमबार पनि भरतपुरमा प्रदर्शन गरेका छन् । उनीहरू लामिछानेलाई छाड्न माग गर्दै आएका छन् ।

Published : Monday, 2019 August 19, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया