नवराज सिलवालसँग मतदाता दिक्क, कांग्रेस आउ हामीलाई बचाउ भन्न थाले

लगनखेल । यतिखेर ललितपुर क्षेत्र नम्बर १ का नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नवराज सिलवाल र प्रदेश ‘ख’ तर्फका सांसद चेतनाथ सञ्जेलसँग चापागाउँबासिन्दा रिसाएका छन् ।

चापागाउँको सडक भत्किएर गाडी डुबाउने खाल्डाखुल्डी बनेपछि हैरान भएका हुन् । पीडितहरूले सांसद सिलवाल र प्रदेश सांसद सञ्जेलले काम नगरेको भन्दै गाली गर्न थालेका छन् ।

तीन–चार महिना अगाडि सातदोवाबोटदेखि चापागाउँसम्मको सडक मर्मत र विस्तारको माग राखेर स्थानीयबासिन्दा आन्दोलित भएका थिए । आन्दोलनमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन समेत सहभागी भएका थिए । भत्किएकाे सडकमा नेपाली कांग्रेसबाट मेयर जितेका महर्जनले बेलाबेला मर्मत गर्ने गरेका छन् । तर, याे सडक केन्द्रबाट बनाउनु पर्ने भएकाले नगरपालिकालाइ सडक विभागले बनाउन पनि दिएकाे छैन ।

प्रतिनिधि सभाका सांसद सिलवाल र प्रदेश सांसद सञ्जेलले ललितपुर क्षेत्र नम्बर १ अन्तर्गत चापागाउँको बाटो निर्माण गर्ने भनेर आश्वासन दिएपनि काम नगरेको स्थानीयको गुनासो छ ।

यतिसम्मकी सिलवाल र सञ्जेललाई भोट हाल्ने मतदाताले पनि अहिले आएर पछुताउन मानेका छन् । मदन महर्जनले भनेका छन्, ‘हामीले जे सोँचेर भोट हालेका थियौँ त्यस्तो भएन ।’

‘यिनीहरूले जितेपछि विकास हुन्छ भन्ने लागेको थियो । विकास होइन झन् विनास भयो’, स्थानीय बासिन्दा मदन महर्जन भन्छन्, ‘अहिले चापागाउँको बाटो पोखरी जस्तै बनेको छ । अब यिनीहरूबाट बाटो बन्ने आश नगरे हुन्छ ।’

यो बाटो सातदोबाटो–चापागाउँ हुँदै हेटौंडा जाने कान्तिलोकपथ प्रस्थान गर्ने बाटो हो । ठूलो महत्व बोकेको यो बाटो निर्माणमा सिलवाल र सञ्जलेल सिन्को पनि भाँच्न सकेका छैनन् ।

रणनैतिक महत्व बोकेको कान्ति लोकपथमा बहुवर्षीय बजेट पारेर नेपाली कांग्रेसका तत्कालीन सांसद उदयशम्शेर राणाले दोहोरो गाडी गुड्ने बनाएका थिए ।

नेकपाका सांसद सिलवालले प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणालाई ३२ सय भोटले पराजित गरेका थिए ।

त्यस्तै प्रदेश सांसद सञ्जेलले नेपाली कांग्रेस युवा नेता मीनकृष्ण महर्जनलाई ५ सय भोटले पराजित गरेका थिए । सिलवाल र सञ्जेललाई माओवादी केन्द्रको भोटले मालामाल बनाएको थियो ।

चापागाउँकी स्थानीय महिला रिजना तुलाधरले नेपाली कांग्रेसले हार्नु नै ललितपुरको दुरदर्शाका दिन शुरु भएको बताइन् । ‘नेपाली कांग्रेसका उदयशम्शेर राणा र मीनकृष्ण महर्जले हार्नु यो क्षेत्रका लागि बिडम्बना भयो’, तुलाधरले भनिन्, ‘चापागाउँसहित ललितपुर क्षेत्र नम्बर १ मा धेरै विकाश हुने थियो । हामीले उहाहरू जस्तो विकासप्रेमी नेताहरूलाई जिताउन सकेनौँ ।’

नेपाली कांग्रेसले जितेको भए चापागाउँको बाटो यस्तो बिग्रिएको अवस्था नहुने उनले बताइन् । बाटो बिग्रिएर खाल्डाखुल्डी भएका कारण बजारमा हिँडडुल गर्न समस्या भएको छ ।

चापागाउँ बाटो कालोपत्रे गर्न स्थानीयबासिन्दाले आन्दोलन गरेका थिए । त्यति मात्र होइन अनिश्चितकालका लागि चापागाउँको सडक बन्द समेत गरेका थिए ।

सडक डिभिजन कार्यालयमा समेत धर्ना बसेका थिए । धर्ना दिएपछि सडक डिभिजन कार्यालयले सांसद सिलवाल र प्रदेश सांसद सञ्जेललाई बोलाएको थियो ।

आन्दोलनकारीको भीड देखेर प्रदेश सांसद सञ्जेल सडक डिभिजन कार्यालयको गेटबाटै भागेका थिए ।

प्रदेश सांसद सञ्जेलले जनताको हिँड्ने बाटोभन्दा पनि आफ्नो घर अगाडिको बाटोमा कालोपत्रे गरेपछि स्थानीयले आक्रोश पोखेका थिए ।

स्थानीय सुरज कायस्थले आफ्नो घर अगाडि मात्रै कालोपत्रे गर्ने भन्दै प्रदेश सांसद सञ्जेलविरुद्ध आक्रोश समेत पोखेका छन् ।

स्थानीय युवाले केही दिन अगाडि प्रदर्शन गर्दै सञ्जेलको घर अगाडि मात्रै कालोपत्रे गरिएको भन्दै प्रदेश सांसद सञ्जेललाई सडकमा हिँड्न नदिने चेतावनी समेत दिएका थिए ।

आन्दोलनकारीले सांसद सिलवालबिरुद्ध चर्को नाराबाजी गरेका थिए । आफूविरुद्ध नराबाजी लागेपछि २ महिनाभित्र यथास्थितिमा कालोपत्रे गर्ने बचन सिलवालले दिएका थिए । सिलवालले त्यस बेला दिएको बचनमा सीमित भएको छ । अहिले यो सडकमा गाडी डुब्ने खालका पोखरी बनेका छन् ।

स्मरण रहेस् सातदोबाटोदेखि हेटौंडा जाने सडक ०७० सालको दोस्रो संविधान सभामा निर्वाचित नेपाली कांग्रेसका तत्कालीन सांसद राणाको पहलामा ५० करोड बजेट निकासा भएको थियो । राणाकै कारण रातो किताबमा बहुवर्षीय योजनाअन्तर्गत बजेट परिसकेको छ ।

गोदावरी नगरपालिका वड नम्बर १० निवासी दीवाकर पोखरेलले चापागाउँ ललितपुर क्षेत्र नम्बरको १ को सदरमुकाम रहेको भन्दै धार्मिक पर्यटकीयस्थलको विकासमा नेकपाका सांसदहरूले ध्यान नदिएको आरोप लगाए । उनले यति महत्वपूर्ण ठाउँको बाटो नबन्नु भनेको जनप्रतिनिधिहरू नालायक भएका कारण रहेको बताए ।

उनले नेपाली कांग्रेसका पूर्वअर्थ राज्यमन्त्री राणा अर्का युवा नेता मीनकृष्ण महर्जनलाई ललितपुर क्षेत्र नं. १ र चापागाउँले खोजी गरेको बताए । विकास विरोधी सिलवाल र सञ्जेललाई बहिस्कार गर्नुपर्ने पोखरेलले बताए ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिलवाल र सञ्जेलले ललितपुर क्षेत्र नम्बर १ मा करोडौं खर्च गरेर भोट किनेको स्थानीयहरूले आरोप लगाएका छन् ।

चुनावका बेला तत्कालीन एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले चापागाउँको आमसभामा ‘तपाईंहरूले सिलवाललाई चुनाव जिताएर पठाउनुस्, उहाँलाई गृहमन्त्रीको बिल्ला लगाएर पठाउँछु’ भनेर भाषण गरेका थिए ।

नेपाल प्रहरीको आइजीपी काण्डमा परेका विवादित छविका सिलवाललाई तत्कालीन एमालेले ललितपुर जिल्लाका दिग्गज नेताहरूको टिकट काटेर उम्मेदवार बनाएको थियो ।

सिलवाल नेपाल प्रहरीको एसएसपी हुँदादेखि सिन्धुपाल्चोकका जग्गा व्यापारी गुणबहादुर थापासँग साँठगाँठ थियो । सिलवालले थापालाई मिटर ब्याजमा पैसा लगाएर करोडौंको सम्पत्ति हडपेको आरोप छ ।

सिलवाल नेपाल प्रहरीको एसएसपी हुँदा थापालाई झुठा मुद्दा लगाई जेलमा समेत हालिएको थियो । सिलवाललाई हराउनभन्दै थापाले ललितपुर क्षेत्र नं. १ मा सिलवालविरुद्ध पर्चा पनि वितरण गरेका थिए ।

Published : Monday, 2019 August 19, 3:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया