क्यानडामा डा.प्रमोद ढकाललाई सम्झिए उपाध्यक्ष आचार्यले

टोरन्टो । गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले एनआरएन अभियन्ता प्रमोद ढकाललाई सम्झिएका छन् ।

शनिबार क्यानडाकाे टाेरन्टाेमा आयोजित एनआरएन क्यानडाको १२ औं साधारणसभालाई सम्बोधन गर्दै आचार्यले डा.ढकालले खुला विश्वविद्यालय स्थापना गर्न क्यानडा छाडेर नेपाल मै ६, ७ वर्ष बसेर रातदिन काम गरेको तर विश्वविद्यालय स्थापना भएपछि उनलाई नसमेटिएको गुनासो गरे ।

‘नेपालमा बौद्धिक लगानीको कुरा गर्दा हामीले प्रमोद ढकाल जस्ता अभियन्तालाई विर्सन हुँदैन’, उनले भने, ‘उनीह?को सम्मान गर्ने वातावरण बनाउनु पर्छ ।’

उपाध्यक्ष आचार्यले सबै एनआरएनहरुको प्रमुख चासो रहेको नेपालमा सम्पत्ति सुरक्षाको विषय र गैर आवासीय नेपाली नागरिकताको विषयबारे पनि बोलेका थिए ।

‘गैरआवासीय नेपाली नागरिकता ऐनमा उल्लेखित सामाजिक, सांस्कृतिक तथा आर्थिक अधिकार भनेको के हो भन्ने स्पष्ट पार्न जरुरी छ’, उनले भने, ‘त्यस्तै नेपाली नागरिकको रुपमा हामीसंग रहेको सम्पत्ती गैर आवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने प्रस्ट खुलाउन जरुरी छ । भूतपूर्व गोर्खाहरूको लागि पनि विशेष व्यबस्था हुनुपर्छ ।’

उनले भने, ‘गैर आवासीय नेपाली नागरिकतासंगै पासपोर्ट दिने व्यवस्था पनि हुनुपर्छ ।’

उनले संसदको राज्य व्यवस्था समितिमा भएको छलफल पछि आशंका उब्जिएको बताउंदै सबै साथीहरूलाई कानून नबन्दासम्म प्रयास जारी राख्न, चनाखो रहन र लबी गरिरहन आग्रह पनि गरेका छन् ।

आचार्यले आउँदो अक्टोबर महिनामा काठमाडौंमा हुन गइरहेको एनआरएनएको विश्व सम्मेलनमा केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताइ सकेका छन् ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क र डालसको भ्रमण पछि उनी शुक्रवार टोरन्टो पुगेका थिए ।

कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना लगायतका वक्ताले शुभकामना दिएका थिए । १२औं साधारणसभाले चिरन्जीवी घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

Published : Sunday, 2019 August 18, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया