डा.यादवले राजीनामा फिर्ता लिए, सीके राउतको योजना भताभुङग

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका सांसद डा. सूर्यनारायण यादवले राजीनामा फिर्ता लिएका छन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयको कार्यालयमा पुगेर आइतबार डा.यादवले सभामुख कृष्णबहादुर महरालाई लिखित रूपमा राजीनामा फिर्ता लिएको पत्र बुझाएका हुन् ।

डा.यादवले स्वास्थ्यको कारण देखाउँदै साउन २८ गते सभामुख महरालाई राजीनामा बुझाएका थिए ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीको बैठकसमेत बसेको थियो ।

पार्टीले राजीनामा फिर्ता लिन आग्रह गरेपनि डा.यादवले केही जवाफ दिएका थिएनन् ।

बैठकपछि भने राजीनामा फिर्ता लिएको पत्र बुझाउन उनी आफैं सभामुख महराको कार्यकक्ष पुगेका थिए ।

सप्तरी १ बाट निर्वाचित सांसद डा.यादव प्रतिनिधिसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवारलाई पराजित गरेर विजयी भएका थिए ।

गत निर्वाचनमा २१ हजार ७ सय १२ मत ल्याएका डा.यादवले प्रतिद्वन्द्वी बामगठबन्धनका उम्मेदवार अशोक मण्डललाई पराजित गरेका थिए ।

डा.यादवले राजीनामा दिएपछि खाली भएको ठाउँबाट पूर्व विखण्डनकारी नेता डा.सीके राउतलाई उम्मेदवार बनाएर सांसद बनाउने तयारी भएको भनेर चर्चा समेत भएको थियो ।

डा.यादवले आफ्नो राजीनामा फिर्ता लिएपछि डा.राउतको योजना भताभुङग भएको छ ।

Published : Sunday, 2019 August 18, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया