‘धुन्दुकारी’ रवि लामिछानेका हर्कतविरुद्ध संसदमा भण्डाफोर

काठमाडौं । पत्रकार शालिग्राम पुडासैनी प्रकरण र सञ्चारकर्मी रवि लामिछाने गिरफ्तारको विषयमा संसदमा कुरा उठेको छ ।

आइतबार बसेको संसदको बैठकको शून्य समयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश्वरजंग गहतराजले पत्रकार पुडासैनी प्रकरण र त्यसको अनुसन्धानका लागि रवि लामिछानेको गिरफ्तारीपछि अहिले भइरहेको गतिविधि शान्ति सुरक्षा तथा सुसाशनविरुद्ध रहेको बताए ।

उनले आफ्नो मान्छे वा आफूलाई मन परेको मान्छे अपराधी हुँदैन भन्ने मनोविज्ञानले समाजलाई नकारात्मक दिशा तर्फ लगिरहेको बताए ।

गहतराजले भने, ‘मेरो मान्छे वा मेरो मन परेको मान्छे सुनपानीको चोखो हुन्छ । अपराधी हुँदैन भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता लगिरहेको छ ? आज गम्भीर चिन्ता र चासोको विषय भएको छ ।’

उनले लामिछानेको गिरफ्तारको घटनालाई लिएर ‘के निहुँ पाउँ कनिका बुकाउँ’ भन्ने उखानलाई चरितार्थ गर्दै अराजक, गैरकानूनी र अस्वभाविक हुलहुज्जत गर्ने कार्य भइरहेको भन्दै त्यस्तो कार्यको निन्दासमेत गरे ।

सांसद गहतराजले प्रहरीले घटनाको अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानूनी प्रकृया रहेको भएपनि अहिले यसलाई उल्लंघन गर्दै हुलहुज्जत गरेर शान्ति सुव्यवस्थालाई खलल पार्ने अवस्था निम्त्याएको आरोप लगाए ।

उनले यस्ता गतिविधिले अपराधीलाई अझ प्रोत्साहन गर्ने भन्दै गम्भीर हुनु जरुरी रहेको बताए ।

Published : Sunday, 2019 August 18, 2:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया