कांग्रेस नेता डा.रिजालको टिप्पणीले नेकपाका नेताहरू झस्किए

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले प्रधानमन्त्रीले यो सरकार लोकतन्त्रका लागि लडेको सरकार हो भनेर दोहो¥याइरहनु आवश्यक नरहेको सुझाव दिएका छन् ।

दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनपछि सांसद रिजालले यो सरकार लोकतन्त्रका लागि लडेको नभइ लोकतन्त्रका लागि लडेकाहरू सरकारमा पुगेका होलान भन्दै यसप्रति हेक्का राख्न आग्रह गरेका हुन् ।

‘सरकार लोकतन्त्रका लागि लडेको होइन, लोकतन्त्रका लागि लडेका मानिसले बनाएको सरकार होला । प्रधानमन्त्री ज्यू हेक्का रहोस’, उनले भने ।

उनले एक पटकको लडाइँले जीवनभर जे पनि गर्नलाई लाइसेन्स नदिने पनि बताए । हिजो प्रजातन्त्रका लागि लड्नेहरू पञ्चायतमा र वाम आन्दोलनका लागि लडेकाहरूले पनि घुँडा टेकेको आफूहरूले देखेको डा.रिजालले बताए ।

उनले एक पटकको लडाइँले जीवनभरका लागि लाइसेन्स नदिने बताए ।

सांसद डा.रिजालले अर्को चुनावपछि आफूलाई पनि सरकारमा बस्न मन नलागेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति व्यग्य गर्दै अर्को चुनावमा कांग्रेसबाहेक अरुको सरकार नबन्ने पनि बताए ।

‘एउटा कुरा खुशी लाग्यो, प्रधानमन्त्रीले भन्नु भयो अर्को चुनाव नभएसम्म यही सरकार रहन्छ’, नेपाली कांग्रेसका सांसद डा.रिजालले भने, ‘यस्तो काम देखेपछि अर्को पल्ट त कांग्रेसबाहेक अरु कसको सरकार बन्छ ?’

डा.रिजालले प्रधानमन्त्री ओलीले यो कार्यकालसम्म सरकारमा आफै बस्ने भन्ने भनाइले सत्ताभित्रै तरंग गयो कि भनेर आशंका व्यक्त गरे ।

पार्टी एकीकरणका बेला ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्रीको कार्यकाल आधा–आधाको सहमति भएको तर्फ संकेत गर्दै सांसद डा.रिजालले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले सत्ताभित्र तरंग गयो कि भन्ने आशंका व्यक्त गरे ।

‘यस पल्टसम्म यही सरकार होभन्दा तरंग चैँ सत्तामा गयो गएन मलाई थाहा छैन’, उनले भने, ‘शुभकामना छ सत्ताभित्र कोही तरंगित नभाहोस् ।’

प्रधानमन्त्री ओलीले अहिले मन्त्रीहरूसँग कार्यसम्पादन करार गरिरहेको प्रति टिप्पणी गर्दै डा.रिजालले चुनावका बेला जनतासँग गरेको कार्यसम्पादन करार किन पूरा भएन भनेर प्रश्न सोधेका थिए ।

‘कार्यसम्पादन करारकका बारेमा औँला उठाएर प्रधानमन्त्रीले मन्त्री फेर्नुहोला’, उनले भने, ‘जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खोइ ? हिजो जनताले चुनावमा गरेको कार्यसम्पादन करार पूरा भएन प्रधानमन्त्री ज्यू ।’

Published : Sunday, 2019 August 18, 2:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया