‘बिचौलिया’ हिराचनलाई ठूलो झड्का, निगमकाे जहाज जापान उड्ने

काठमाडौं । एनआरएनका पूर्वअध्यक्ष देवमान हिराचनले नेपाल बायुसेवा निगमबिरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय सुनाएको छ ।

यो आदेशसँगै निगमको ओशाका उडान निश्चित भएको छ । ओशाका उडान नै रोक्ने हिसाबले हिराचनले सर्वोच्चमा रिट दायर गरेका थिए ।

तर, निगम अन्तरिम आदेशका बिरुद्ध भ्याकेटमा गएपछि सर्वोच्चले हिराचनको रिटमा दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गर्दै निगमको मागर सदर गरेको छ ।

निगमले जापानको ओशाका उडानका लागि टिकट बिक्री गर्नका लागि नेपाल प्रतिनिधिको रुपमा चिनाउँदै आएका हिराचनलाई हटाएर एआइजेलाई दिएको थियो ।

हिराचनले आफूलाई नेपाल प्रतिनिधिबाट हटाउने निर्णयका बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले २०७६ साउन ८ मा उनलाई जापान प्रतिनिधिबाट नहटाउन अन्तरिम आदेश दिएको थियो ।

तर, निगम भ्याकेटमा गएपछि बुधबार भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठले निगमको माग सदर हुने आदेश दिएका छन् ।

निगमको तर्फबाट अधिवक्ता सतिशकृष्ण खरेल, कृष्ण देवकोटा लगायतले बहस गरेका थिए । हिराचनको तर्फबाट डा.भीमार्जुन आचार्यसहितका ५ अधिवक्ताले बहस गरेका थिए ।

Published : Wednesday, 2019 August 14, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया