कतार घटनाप्रति कांग्रेसका नेता खतिवडा चिन्तित, शव छिटाे ल्याउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कतारको दोहामा आक्रमणमा परेर एक जना नेपालीको ज्यान गएकाे र पाँच जना घाइते भएको घटनाप्रति आफू गम्भीर भएको जनाएका छन् ।

बुधबार राति रिपब्लिका दैनिकसँग कुरा गर्दै खतिवडाले रोजगारीमा कतारमा रहेका नेपालीहरूको शान्ति सुरक्षा र जिउधनको सुरक्षाप्रति चिन्ता जनाएका हुन् । मंगलबार साँझ भएको आक्रमणमा परेर सुनसरीका एक जनाको ज्यान जानुका साथै पाँच जना घाइते भएका थिए ।

‘रोजगारीमा कतारमा रहेका नेपालीहरूमाथि भएको आक्रमणको बारेमा नेपाल सरकारले कुटनीतिक पहलमार्फत मृत्यु भएकाको शव छिटो नेपाल ल्याउनुपर्छ’, उनले भनेका छन्, ‘आउँदा दिनमा नेपालीहरूमाथि हुने आक्रमण रोक्नका लागि नेपाल सरकारले विशेष पहल गर्नुपर्छ ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले युएईमा रोजगारीमा रहेका सबै नेपालीहरूको सुरक्षामा नेपाल सरकारले ध्यान दिनुपर्ने बताए ।

यस्ता घटना बेलाबेला हुने गरेको भन्दै खतिवडाले नेपाल सरकार विशेष रुपमा सचेत हुनुपर्ने बताए ।

कतारको राजधानी दोहामा भएको घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि युवा नेता खतिवडाले गरेका छन् । उनले नेपाली कांग्रेस निकटका जनसम्पर्क समितिहरूलाई नेपालीहरूको सुरक्षा र समस्याहरूमा विशेष ध्यान दिन पनि आग्रह गरेका छन् ।

Published : Wednesday, 2019 August 14, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया