कम्युनिस्ट सरकारले लगानी वातावरण बनाउन सकेनः डा.महत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री डा.रामशरण महतले नेपाल–भारतबीच अबको सम्बन्ध आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लव नेपालले काठमाडौंमा बुधबार आयोजना गरेको साक्षत्कारमा डा.महतले नेपाली जनता विश्वकै द्रुत आर्थिक वृद्धि हासिल गरिरहेको भारतबाट लाभ लिनुपर्ने बताए ।

उनले भारतीय लगानी बढीभन्दा बढी भित्र्याएर रोजगारको अवसर सृजना गर्नुपर्ने बताए ।

डा.महतले भारतको आर्थिक वृद्धि सात प्रतिशतको हाराहारीमा भएको अवस्थामा नेपालले भोगिरहेको व्यापार घाटा गम्भीर चुनौती रहेको बताए ।

उनले व्यापार घाटा घटाउन भारतीय लगानी भित्रिएर उद्योगधन्दा खोलिनुपर्नेमा जोड दिए ।

नेपालको कच्चा पदार्थ नेपालमै सदुपयोग गर्ने गरी भारतीय लगानी भित्राउन सक्नुपर्ने डा.महतले बताए ।

सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने भन्दै लगानीका क्षेत्रहरूलाई अझ स्पष्ट पार्नुपर्ने उनले बताए ।

सन् १९९६ को वाणिज्य सन्धीले नेपालले उत्पादन निर्यातको वातावरण पाएको उल्लेख गर्दै उनले त्यस्तै अवस्था सृजना गर्नुपर्ने बताए ।

उनले भारतीय पर्यटक बढीभन्दा बढी भित्राउनेदेखि लगानी वृद्धि गर्नसके नेपालको आर्थिक विकासले गति लिने बताए ।

Published : Wednesday, 2019 August 14, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया