आइजीपी खनालद्वारा चलचित्रकर्मीहरूसँग परामर्श

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरी समाजको चाहना अनुसार परिवर्तित भई अगाडि बढेको सन्दर्भमा कलाकारिता, लेखरचना मार्फत सोही अनुरुपको सन्देश जनसमक्ष पुर्‍याउन चलचित्रकर्मीहरूले साथ दिनुपर्ने बताएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी र नेपाल चलचित्रकर्मी एवम् चलचित्र विज्ञहरूसँग भएकाे अन्तरक्रिया कार्यक्रममा महानिरीक्षाक खनालले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशमा समेत प्रहरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको चर्चा गरे ।

उनले सुरक्षा जस्तो संवेदनशील विषयमा समाजलाई राम्रो बनाउन सबै क्षेत्रबाट समन्वयात्मक पहल हुनुपर्नेमा जोड दिए ।

समाजका प्रवुद्ध वर्ग, सामाजिक अभियन्तासँग कार्यक्रम राखेर अगाडि बढ्ने चाहना अनुरुप अन्तरक्रिया गरिएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अन्तरक्रियाबाट आएका सुझावलाई तत्काल सुधार गर्न सुरू गरिने बताए । यसका लागि सबैको साथ, सहयोग र समन्वय आवश्यक पर्ने उनले उल्लेख गरे ।

समाजमा प्रहरीको भूमिका उत्कृष्ट बनाउने अभियानका साथ नयाँ अवधारणा सहित ल्याइएको समुदाय प्रहरी साझेदारी कार्यक्रमले सम्बद्ध विषयवस्तुलाई गम्भीरताका साथ उठाएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले कार्यक्रमका विषयवस्तु कार्यान्वयनमा आफ्नो क्षेत्रबाट सहयोग गर्न चलचित्रकर्मीहरूलाई आग्रह गरे ।

सुशासनको पहरेदार प्रहरीको भूमिकालाई सकारात्मक रुपमा प्रस्तुत भईदिए समाज परिर्वतनमा समेत सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।

नेपाल चलचित्र निर्माण संघका अध्यक्ष आकाश अधिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई संघकोतर्फबाट लिखित सुझाव हस्तान्तरण गरेका छन् ।

उनले नेपाल प्रहरीलाई संघले आवश्यक सहयोग गर्दै आएको चर्चा गर्दै आगामी दिनमा आवश्यक सहयोग र समन्वय गर्दै अगाडि बढ्ने बताए । चलचित्रमा नेपाल प्रहरीको भूमिका सन्दर्भमा देखिएका समस्या समाधानतर्फ राज्य र प्रहरी प्रशासनले आवश्यक पहल गर्ने अपेक्षा उनले व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले नेपाल चलचित्र उद्योगसँग नेपाल प्रहरीको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा समेत पारस्परिक सहयोग आदान प्रदान गर्न नेपाली चलचित्र उद्योग तयार रहने प्रतिवद्धता व्यक्त गरे ।

सामाजिक दायित्वबोध कमी भएको कारण निस्कने अप्ठ्यारो न्यून गर्न सहयोग पुर्‍याउने यस्ता अन्तरक्रियाले निरन्तरता पाउनुपर्नेमा उनले जोड दिए ।

केही संवेदनशील विषयमा निर्णय लिँदा त्यस क्षेत्रका विज्ञको आवश्यकता पर्ने उल्लेख गर्दै वरिष्ठ कलाकार शाहले चलचित्रमा प्रहरीको चरित्र, प्रहरीसँग सम्बन्धित प्रसंग उल्लेख भएका संवेदनशील विषयमा अध्ययन गर्न प्रहरीकै विज्ञ हुनुपर्ने बताए ।

समस्या समाधान गर्न लामो विवेचना र विश्लेषण आवश्यक पर्ने भएकोले यसतर्फ आवश्यक समन्वय हुनुपर्नेमा उनले बताए ।

प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले कार्यक्रमको उद्देश्य, पृष्ठभूमि र अन्तरक्रियाका वुँदाहरूबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल चलचित्रमा प्रहरीसँग सम्बन्धित भूमिका, कथावस्तु अनुसार चलचित्रमा पक्राउ परेका व्यक्तिहरू उपर कानूनसम्मत एवम् मानवोचित व्यवहार प्रस्तुत, चलचित्र छायाङ्कनपूर्व प्रहरी प्रधान कार्यालयसँग समन्वय, प्रहरीले निर्माण गरेका जनचेतनामूलक श्रव्यदृश्य सामग्री चलचित्र हलमा प्रसारण गर्ने पद्दतिको विकास लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, नेपाल निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र निर्माण संघ, गीतकार संघ नेपाल, नेपाल चलचित्र द्वन्द्व संघ, टेलिभिजन कलाकर्मी मञ्च लगायत संस्थाका पदाधिकारीहरू, चलचित्र विज्ञहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2019 August 14, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया