मोदीको भ्रमणले नेपालमा भारतीय पर्यटक बढेः राजदूत पुरी

काठमाडौं । नेपालका लागि भारतका राजदूत मञ्जिभ सिंह पुरीले नेपाल–भारतबीच वीन–वीनको अवस्था बनाएर विकास र समृद्धिको यात्रामा साझेदारहरू भइरहेको बताए ।

रिपोर्टर्स क्लव नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा राजदूत पुरीले दुई देशबीच विगतमा भएका सन्धी सम्झौताले सार्थक परिणाम हासिल गर्नुले सबैलाई उत्साही बनाएको बताए ।

‘अब सिधै मोतीहारीबाट अमलेखगञ्जमा पाइपलाइनबाट तेल आउँछ’, उनले भने, ‘हामी परिणाम हासिल गर्दैछौं ।’

विराटनगर चेक प्वाइन्ट सुचारु हुन गइरहेको र अरुण तेस्रो जलविद्युत आयोजना पनि द्रुत गतिमा बढिरहेको उनले बताए ।

‘गेम चेञ्जर आयोजनाहरू सफल बनाउँदैछौं’, उनले भनेका छन् । राजदूत पुरीले दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयन भई सफल परिणाम हासिल हुँदा सम्बन्ध मजबुत हुनाका साथै उत्साह बढेको बताएका छन् ।

भारतको विकास र प्रगतिले नेपाललाई लाभ मिलिरहेको भन्दै दुवै देश मिलेर बढिरहेकोमा उनले खुशी व्यक्त गरेका छन् ।

भारतको नेपालसँग विशेष सम्बन्ध रहेको भन्दै सम्बन्धबाट आर्थिक लाभ लिनसक्ने अवस्था बनेको उनले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकलाई प्राथमिकतामा राख्ने नीति लिएको उल्लेख गर्दै उनले त्यो नेपालका लागि लाभदायक हुने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक जीत हासिल गरेर संसारको ठूलो लोकतन्त्रमा दोस्रो पटकको चुनावमा झन् ठूलो सफलता हासिल गरेको उनले उल्लेख गरेका छन् ।

भारतीय जनताले सबल र बलियो सरकार निर्माणको म्याण्डेट दिएको उनले बताए ।

भारतको कुल ग्राहस्थ उत्पादन पाँच हजार अरब पुगेको भन्दै पुरीले मोदी कार्यकालमा झण्डै दोब्बर प्रगति भएको उल्लेख गरे ।

मोदी प्रधानमन्त्री भएपछि चारपटक नेपाल भ्रमण गरेको र गत वर्ष दुई पटक भ्रमण गरेको भन्दै उनले त्यसले दुई देशको सम्बन्ध सुमधुर भएको बताए । उनले मोदीको भ्रमणले धार्मिकस्थलहरूमा भारतीय पर्यटक बढेको बताए ।

भारतले आतंकवादलाई परास्त गरी विकासको मार्गलाई फराकिलो बनाएको राजदूत पुरीले बताएका छन् ।

उनले आतंकवादविरुद्धको लडाइँमा भारत सफल भएबाट ठूलो आर्थिक फड्को मारेको बताए । उनले भारतले शान्ति, सुरक्षा र स्थिरतालाई महत्वमा राखेर काम गरिरहेको बताए ।

नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक भएको भन्दै दुवै देशको लोकतान्त्रिक आन्दोलनमा एक अर्काबाट सहयोग प्राप्त भएको उनले उल्लेख गरे ।

वीपी कोइराला, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारीलगायतले भारतको स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्दै पुरीले जयप्रकाशनारायण र राममनोहर लोहियालगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान रहेको बताए ।

उनले जयप्रकाशनारायण र राममनोहर लोहियालाई नेपालमा गिरफ्तार गरिँदा नेपाली जनताले जेल तोडेर भगाएको इतिहास सुनाए ।

Published : Wednesday, 2019 August 14, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया