भारतले नेपाललाई सिक्किम बनाउन चाहन्छः कांग्रेस नेता प्रदीप गिरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप गिरीले भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिने चेतावनी दिएका छन् ।

सिंहदरबारमा प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले भारतले नेपाललाई सिक्किम बनाउन खोजेको आरोप लगाए । समिति सदस्य गिरीले भारतले सकेको खण्डमा नेपाललाई सिक्किम बनाउने अभिव्यक्ति दिएका हुन् ।

समितिमा नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौतालगायत बारेमा छलफल भएको थियो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै कांग्रेस नेता गिरीले नेपाल–भारत सिमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरू नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको बताए ।

गिरीले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुने बताए । सचेत बनेर समयमै कुटनीतिक सक्षमता देखाउन दुईतिहाइको कम्युनिस्ट सरकारको नेता गिरीले ध्यानाकर्षण गराए ।

उनले नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसाथ गरी पहलकदमी गर्न आग्रह गरे ।

‘विपक्षमा रहेर कहिले पनि त्यस्ता मागलाई उठाउनु हुँदैन । जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस्’, नेपाली कांग्रेसका सांसद गिरीले भने, ‘कुटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन । सबैभन्दा ठूलो विफलता कुटनीतिक विफलता हो ।’

‘हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ’, उनले भने, ‘भुटान बनाउँछ । तथ्य हो यो ।’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भीम रावलले नेपालको ठूलो भू–भाग भारतको अतिक्रमणमा परेको बताए । उनले समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

रावलले भारतले नेपालको ६ सय ६ वर्ग किलोमिटर भू–भाग अतिक्रमणमा परेको बताए । उनले ७१ स्थानमा सीमा विवाद देखिएको भन्दै दशगजाका विभिन्न स्थानमा भारततर्फबाट अतिक्रमण गर्ने काम भैरहेको दावी गरे ।

‘सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भएको, पानीको प्राकृतिक बहाव रोकिने गरी संरचना बनाएकाले तराई क्षेत्र डुबानमा पर्दा बर्सेनि ती क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको छ’, नेकपाका नेता रावलले भने, ‘भारतसँग नेपालले सीमा विवाद सुल्झाइ अतिक्रमण रोक्नु पर्छ ।’

Published : Wednesday, 2019 August 14, 5:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया