दाङको प्रदेश उपनिर्वाचनमा कांग्रेसबाट यी नेताहरूको चर्चा

घोराही । दाङ जिल्लाको क्षेत्र नं. ३ ‘ख’मा नेपाली कांग्रेसले उम्मेदवार चयनको लागि अनौपचारिक गृहकार्य शुरू गरेको छ ।

निर्वाचन आयोगले दाङसहित देशभरि रिक्त रहेका स्थानीय तह, प्रदेश र क्षेत्रको उपनिर्वाचन मंसिर १४ गते गर्ने निर्णय गरेसँगै उम्मेदवारको चर्चा शुरू भएको हो । नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिले उपनिर्वाचनलाई आफ्नो पक्षमा बनाइछाड्ने गरेर तयारी तिब्र बनाएको छ ।

पूर्वएमालेबाट दाङ क्षेत्र नं. ३ ‘ख’मा विजयी भएका उत्तरकुमार ओलीको गाडी दुर्घटनामा मृत्यु भएको थियो ।

यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस दाङका आधा दर्जनभन्दा धेरै उम्मेदवारका आकंक्षी देखिएका छन् ।

पहिलो नम्बरमा नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिका सचिव समेत रहेका युवा नेता शंकर डाँगी अग्रभागमा देखिएका छन् । डाँगी दाङ जिल्लामा लोकप्रिय मानिन्छन् ।

कांग्रेसका स्थानीय नेताहरूले पनि डाँगीलाई नै टिकट दिँदा जित्न सकिजलो हुने भनेर चर्चा शुरू भएकाे छ ।

सचिव डाँगीभन्दा सिनियर नेताहरू अरु भएकाले उनले टिकट पाउनेमा आशंकाहरू छन् ।

टिकटको आकंक्षीमा उत्तरकुमार ओलीसँग पराजित नेपाली कांग्रेसका नेता बुद्धिराम भण्डारी पनि रहेका छन् । भण्डारीले पनि टिकटमा दाबी गर्दै आएका छन् ।

नेपाली कांग्रेसका नेताहरू केशव आचार्य, जगतबहादुर खड्का, खिमप्रसाद खराल, टीका घर्ती, सुरेश हमाल, होमप्रकाश गौतमलगायतका नेताहरू टिकटको आकंक्षी छन् ।

गुट र उपगुटका कुरा छाडेर जित्ने उम्मेदावरलाई टिकट दिने हो भने दाङमा कांग्रेसको जित सुनिश्चित छ ।

टिकट वितरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, शिला गौतम खड्का, पार्वती डिसी चौधरी, पूर्वसांसद राजु खनाल, जिल्ला सभापति कीर्तिबहादुर खड्का, प्रदेश सांसद डिल्लीबहादुर चौधरीसहितका नेताहरूको सहमति पनि आवश्यक पर्नेछ । उनीहरू मिलेर एकमत भएर टिकटका लागि सिफारिस गरे भने दाङमा नेपाली कांग्रेसले फेरि पनि विजयीको झण्डा गाड्नेछ ।

अघिल्लो निर्वाचनमा जस्तै गुटको रोग बल्झियो भने नेपाली कांग्रेसको पुनः लज्जास्पद हार हुनेछ । केन्द्रीय नेताहरूले पनि दाङ क्षेत्र नं. ३ ‘ख’मा नेपाली कांग्रेसको पुनरागमन हुने ढुक्क छन् ।

उता, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्वर्गीय उत्तरकुमार ओलीकी पत्नी विमला ओलीलाई टिकट दिन दवाव परेको छ ।

नेकपाबाट टिकटको दाबी गर्नेहरूमा टीकाराम खड्का, शोभाराम बस्नेत, भीमबहादुर ओली, चुर्ण ओली, हुकम बस्नेतलगायतको नाम चर्चामा छन् । यो क्षेत्र पूर्वएमालेको भागमा परेको हुनाले उपनिर्वाचनमा पनि एमाले पृष्ठभूमि भएको नेताले टिकट पाउने सम्भावना निकै छ ।

माओवादी पृष्ठभूमि भएका नेतालाई यो क्षेत्रको उपनिर्वाचनमा टिकट दिने सम्भावना निकै कम रहेको नेकपा दाङका एक नेताले बताए । दुई पार्टी एउटै भएकाले माओवादी पृष्ठभूमि भएका नेताहरूले पनि टिकटका लागि दावी गरिरहेका छन् ।

यीमध्ये टिकट पाउनेमध्ये सबैभन्दा अग्रभागमा स्व.उत्तरकुमार ओलीकी पत्नी विमला ओली नै रहेको स्रोतले जनाएको छ ।

Published : Wednesday, 2019 August 14, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया