देशलाई होइन ओलीले झापालाई समृद्ध बनाउने

दमक । दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो जिल्ला झापामा झण्डै ३५ अर्ब बजेट भित्र्याएका छन् ।

प्रधानमन्त्री जस्तो व्यक्तिले देशका सबै गाउँ, क्षेत्र र जिल्लालाई बराबरी मान्नु पर्ने हो । तर, उनले झापा जिल्लालाई अत्याधिक महत्व दिएका तथ्याङ्कहरूले देखाएको छ ।

समृद्धिको नारा लगाउँदै आएका ओलीले देशलाई भन्दा पनि आफ्नो गृहजिल्ला झापालाई समृद्ध बनाउन सक्रिय भएको उनका हरेक गतिविधिहरूले खाएको छ ।

ओली पहिलो पटक प्रधानमन्त्री हुँदा ०७२ सालमा दमकमा विश्वकै अग्लो बुद्धमूर्ति बनाउने घोषणा गरेका थिए । ५४२ फिट अग्लो बुद्धमूर्ति निर्माण गरेर दमक र लुम्बिनीलाई बुद्ध–सर्किटसँग जोड्ने योजनामा नगरपालिका कार्यालयले डीपीआर तयार गरिसकेको छ ।

१५ अर्बभन्दा बढीको लगानीमा बुद्धमूर्ति निर्माण गर्न लागिएको छ । यसका लागि ५ बिघा १२ कट्ठा जमिन प्राप्त भइसकेको नगरपालिकाका प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिएको कान्तिपुर दैनिकले समाचारमा जनाएको छ ।

दमक–३ मा १८ तले भ्यु टावर निर्माण प्रक्रिया पनि अघि बढेको छ । सघन सहरी विकास मन्त्रालयले ३ अर्बको लागतमा सुविधासम्पन्न टावर निर्माण गर्न लागेको छ ।

दमकमै सभागृह, सपिङ कम्प्लेक्स, बहुतलीय बस पार्क, रोज गार्डेन पार्क, संग्रहालय, पुल, विश्व बैंकको सहयोगमा सडक, प्राविधिक शिक्षालयलगायत पनि निर्माण हुनेछ ।

वडा नं. ९ मा सहरी विकास मन्त्रालयको लगानीमा प्रदेश १ कै ठूलो सभागृह बनाइँदै छ । डाँफे–एमए–प्रतिष्ठा कन्स्ट्रक्सन जेभीले झन्डै २९ करोड रुपियाँमा ठेक्का लिएर निर्माण गरिरहेको छ ।

नगरपालिकाले वडा नं. ७ हाटखोलामा सुविधासम्पन्न सपिङ कम्प्लेक्स निर्माण गर्ने योजनासमेत अघि बढाएको छ ।

स्थानीय आदिवासी पदम माझीले आफ्नो निजी जमिन भनी दाबी गरेको करिब ११ कट्ठा जमिनमा अन्डरग्राउन्ड पार्किङसहितको सपिङ कम्प्लेक्स निर्माण गर्ने योजना अघि सारेको छ । वडा नं. ६ मा रहेको दमक बस पार्कलाई ‘बहुतले’ बनाउने योजना पनि अघि सारिएको छ ।

एक अर्ब ३७ करोडको लागतमा नगरभित्र महत्वपूर्ण चारवटा पुल निर्माणाधीन छन् ।

Published : Wednesday, 2019 August 14, 11:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया