‘अरिँगाल’वाला ‘टोले गुण्डा’ वीरेन्द्रको ललितपुरमा बिगबिगी, कीर्तेकाण्डमा भागाभाग

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा रहेको व्यक्ति नामको २४ रोपनी जग्गालाई बाटोको गलत तथ्याङ्क देखाएर सरकारलाई राजश्व ठगी गरेको खुलासा भएको छ ।

त्यति मात्रै होइन टोले गुण्डा वीरेन्द्र महर्जनसहितको समूहले गोदावरी नगरपालिकामा रहेको जग्गाको सिफारिस बागमत गाउँपालिकाको वडाबाट कीर्ते सिफारिस लिएर जग्गा नाम सारी गरेका हुन् ।

नाम सारीका लागि अन्तिम तयारी भइरहेका बेला उजुरी परेपछि कानूनी रुपमा २४ रोपनी जग्गा नाम सारी भने हुन पाएको छैन । तर, सबै लेखापढी पूरा भएको छ ।

ललितपुरका गुण्डा नाइके वीरेन्द्र महर्जन र क्रसर व्यवसायी सुदर्शन विष्ट मिलेर गलत तथ्याङ्क बनाएर लाखौँ रुपियाँ राजश्व ठगी गरेका हुन् ।

वीरेन्द्र र सुदर्शनले बागमती गाउँपालिकाको वडाध्यक्षलाई पाँच लाख दिएर गलत तथ्याङ्कसहितको सिफारिस बनाएर राजश्व ठगी र कीर्ते गरेको मालपोत कार्यालय ललितपुर निकट एक कर्मचारीले जानकारी दिए ।

जग्गा पास गर्ने व्यक्ति ललितपुर महानगरपालिका वडा नम्बर ५ कुमारीपाटी बस्ने गुण्डा नाइके वीरेन्द्र महर्जन हुन् ।

गोदावरी नगरपालिका वडा नम्बर ११ बस्ने क्रसर व्यवसायी सुदर्शन विष्ट तथा गोदावरी नगरपालिका वडा नम्बर ६ बस्ने श्यामगोविन्द श्रेष्ठको नाममा २४ रोपनी जग्गा गलत तथ्याङ्क र कीर्ते सिफारिस देखाएर २४ रोपनी जग्गा पास गरेको स्रोतले जनाएको छ ।

२४ रोपनी जग्गामा जानका लागि ठूलो मोटर बोटो रहेको छ । तर, यी भू–माफियाहरू वीरेन्द्र महर्जन, सुदर्शन विष्ट र बागमती गाउँपालिकाको वडाध्यक्ष श्यामसुन्दर लो मिलेर मोटरबाटोलाई गोरेटो बाटो भन्ने सिफारिस बनाएर राजश्व ठगी गरेका हुन् ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका जगतबहादुर लोले गलत सिफारिस गरिदिए वापत ५ लाख रकम लिएको स्रोतले जनाएको छ ।

राजश्व ठगी गरेको प्रमाणित भएमा नेपालको कानूनअनुसार चार वर्ष कैद र दुई लाख रुपियाँ जरिवाना दुबैको व्यवस्था छ ।

राजश्व ठगी गरेको उजुरी परेपछि टोले गुण्डा वीरेन्द्र महर्जन, क्रसर व्यवसायी संघ ललितपुरका अध्यक्ष सुदर्शन विष्ट र श्यामगोविन्द श्रेष्ठ फरार भएका छन् । यो तीन जनाको भूमाफियाको समूहले जग्गा आफ्नो नाममा बनाउन कीर्ते कागजपत्र बनाएको थियो ।

यो विषयमा जिल्ला प्रशासन कार्यालय ललितपुरले सोमबार मालपोत कार्यालय ललितपुरका सबै अधिकृत र कर्मचारीहरूलाई बोलाएर बयान समेत लिएको छ । मंगलबार सोही विषयमा अन्य व्यक्तिहरूलाई छानविन र बयानका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले बोलाएको छ ।

पछिल्लो समय भू–माफिया बनेका नेकपा निकटका गुण्डा नाइके वीरेन्द्र महर्जन ०६७ सालमा २ वटा पेस्तोल र १० राउण्ड गोलीसहित पक्राउ परेका थिए । अदालतको आदेशपछि वीरेन्द्र महर्जनलाई पुर्पक्षका लागि प्रहरीले नख्खु जेल चलान गरेको थियो ।

प्रहरीको रेकर्डअनुसार वीरेन्द्र महर्जन लागूऔषध र अबैध हतियार कारोबारी हुन् । वीरेन्द्र महर्जन पछिल्लो समय अबैध असुलीदेखि जग्गाको कारोवारतिर लागेका छन् ।

सुदर्शन विष्ट ललितपुर क्रसर व्यावसायी संघका अध्यक्ष समेत हुन् । विष्टले प्रहरी र प्रशासनसँग सेटिङ मिलाएर अबैध क्रसर व्यवसायीहरूलाई संरक्षण गर्दै आएका छन् । क्रसर व्यवसायी विष्ट नेकपा निकटका हुन् ।

गोदावरीको दक्षिणी क्षेत्रमा अबैध बालुवा र ढुंगा खानी ३० र अबैध क्रसर ५० भन्दा बढी छन् । सुदर्शन विष्टले क्रसर र खानीबाट प्रतिव्यक्ति १ लाखको दरले अबैध असुली गरेर लिन्थे ।

संघका अध्यक्ष विष्टको यो हर्कतको सुइको पाएपछि महानगरीय प्रहरी परिषद् ललितपुरका एसएसपी रविन्द्र धनुकको ठाडो आदेशमा प्रहरीले विष्टलाई घरबाटै पक्राउ गरेर ल्याएको थियो ।

पछि विष्टलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेताहरूले छुटाउन दवाव दिएका थिए ।

के भन्छन् वीरेन्द्र महर्जन ?

संघीयताका कारण सिमाङ्कन यताको उता उताको यता परेकाले जग्गाको सिफारिस बागमती गाउँपालिकाको वडाबाट लिएका हौँ । हामीलाई पनि जग्गाका बारेमा धेरै जानकारी थिएन । हामीले कानूनअनुसार नै काम गरेको हो । सिमानामा रहेको जग्गाका बारेमा पहिला बागमतीतिर थियो । अहिले गोदावरीतिर परेको रहेछ हामीलाई थाहा भएन ।

हामीले कानूनले भनेअनुसार राजश्व तिरेका हौँ । अहिले जग्गा गोदावरीतिर पर्दो रहेछ । हाम्रो कुनै गल्ती छैन । समाचारमा लगाइएको आरोपमा मेरो असहमति छ । समाचार एकतर्फी भयो । समाचारमा लगाइएका आरोपमा कुनै सत्यता छैन ।

Published : Monday, 2019 August 12, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया