ओलीलाई स्वागत गर्न प्रचण्ड-नेपाल गएनन्, बामदेव अग्रभागमा देखिए

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओली स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्किएका छन् ।

ओली आफ्नी पत्नी राधिका शाक्यलगायतको दलबलसहित उपचार गराउन सिङ्गापुर गएका थिए । ओली लामो उपचारपछि सोमबार स्वदेश आएका हुन् ।

प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सलामी पनि लिएनन् । उनले सम्वाददाताहरूसँग पनि कुराकानी गर्न मानेन् । प्रधानमन्त्री विदेश जाँदा र आउँदा नेपाली सेनाको सलामी लिने र पत्रकारहरूलाई सम्बोधन गर्ने परम्परा छ ।

तर, ओलीले किन पत्रकारलाई सम्बोधन र सलामी लिन चाहनेनन् केही भनिएको छैन । स्रोतका अनुसार ओलीको स्वास्थ्यका कारण धेरै दुबै कार्यक्रम हटाइएको थियो ।

ओलीलाई स्वागत गर्न उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना, नेकपाका नेता बामदेव गौतम, महासचिव विष्णु पौडेलसहितका नेताहरू विमानस्थलको भीभीआइपी कक्षमा पुगेका थिए ।

तर, ओलीलाई स्वागत गर्न नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरू गएका थिएनन् । ओलीकाे स्वागत गर्न आफ्ना गुटका नेताहरू मात्रै विमानस्थल पुगेका थिए ।

रगतमा क्रेटीनाइनको मात्रा बढेको र पिसाबबाट प्रोटीन बग्न थालेपछि चिकित्सकको सल्लाहमा ओली अघिल्लो शनिबार सिंगापुर गएका थिए ।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार स्वास्थ्य परीक्षण कार्य नसकिएको बताए । अर्यालले रिपोर्ट आएपछि चिकित्सकसँग थप परामर्श लिनु परेकाले प्रधानमन्त्री ओलीको बसाइँ लम्बिएको बताएका छन् ।

नेपालबाट जाँदा प्रधानमन्त्री ओलीले रिर्टन टिकट लिएका थिएनन् ।

काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा प्रारम्भीक स्वास्थ्य परीक्षण गरेपछि नेपालमा उपचार सम्भव नहुने भन्दै चिकित्सकहरूले मिर्गौला र कलेजो प्रत्यारोपणका लागि विश्व प्रसिद्ध अस्पताल नेसनल युनिभर्सिटीमा रिफर गरिदिएका थिए ।

प्रधानमन्त्री ओली सिल्क एयरबाट गत शनिबार सिंगापुरको उक्त सरकारी अस्पताल प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्य, राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्रचार्य, निजी चिकित्सक दीव्या शाह र परराष्ट्रका उपसचिव ईन्दिरा अर्याललगायतको टोली सिंगापुरमा एक साताभन्दा बढी बसेको थियो ।

धपेडी कम गर्न चिकित्सकले सुझाव दिए पनि आनाकानी गर्दै आएका प्रधानमन्त्री ओलीले पछिल्लो साता अस्वस्थ भएपछि छाउनीमा उपचार गराएका थिए ।

धपेडी कम गरी आराम गर्न पनि चिकित्सकले सुझाव दिएपछि प्रधानमन्त्री सिंगापुर गएका हुन् ।

Published : Monday, 2019 August 12, 2:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया