पाकिस्तानका टिभीहरूमा भारत विरोधी सामाग्री प्रशारण गर्न निर्देशन

नयाँदिल्ली । पाकिस्तान सरकारले त्यहाँस्थित टेलिभिजन च्यानलहरूलाई आगामी बुधबार र बिहीबारका दिन भारतविरोधी सामाग्री मात्र प्रशारण गर्न निर्देशन दिएको छ ।

संविधानको अनुच्छेद खारेज गरी जम्मु–कश्मीरलाई दिइएको विशेषाधिकार अन्त्य गरेपछि भारतसँग पाकिस्तान रिसाएको छ ।

पाकिस्तानका मिडिया नियमन प्राधिकरणका महाप्रबन्धक मोहम्मद ताहिरले जारी गरेको परिपत्रमा कश्मीरका नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्न ईदका विशेष कार्यक्रम समेत प्रशारण नगर्न निर्देशन दिइएको छ ।

सबै स्याटेलाइट टेलिभिजन च्यानल, एफएम रेडियो र सञ्चार माध्यमहरूलाई कश्मीरप्रति ऐक्यबद्धता झल्किने सामग्री प्रकाशन र प्रशारण गर्न निर्देश दिइएको हो ।

पाकिस्तानी स्वतन्त्रता दिवस अर्थात १४ अगस्टलाई कश्मीरका जनताहरूप्रति ऐक्यबद्धता जनाउने दिवसका रूपमा पाकिस्तानले मनाउन लागेको छ ।

१५ अगस्ट अर्थात बिहीबारलाई कालो दिवसका रूपमा मनाउने निर्णय भएको जनाउँदै देशको झण्डा आधा झुकाउने जानकारी पनि सो परिपत्रमा उल्लेख छ ।

सो दिनभरि भारत विरोधी सामग्री प्रकाशन र प्रशारण गर्न, भारतमा मुस्लिम र अल्पसंख्यकहरूमाथि भएको भनिएको अत्याचारविरूद्ध प्रचार गर्न पनि पाकिस्तान सरकारले मिडियाहरूलाई निर्देशन जारी गरेको छ ।

Published : Monday, 2019 August 12, 1:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया