नागढुंगादेखि कलंकीसम्मको सडक हरियाली बनाइने

काठमाडाैं । सरकारले राजधानी भित्रिने प्रमुख नाका नागढुंगादेखि कलंकीसम्मको सडक किनारा हरियाली बनाउने कामको थालनीकाे सुरूवात गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले सडक विस्तारकार्य सम्पन्न भएको स्थानमा सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण अभियान सुरु गरेको हो ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नागढुंगामा कपुरको बिरुवा रोपेर अभियानको विधिवत थालनी गरेका छन् ।

नागढुंगादेखि थानकोटसम्मको तीन किलोमिटर सडकको निर्माणकार्य सम्पन्न भएकाले सो स्थानमा वृक्षारोपण गर्न लागिएको वन विभागका महानिर्देशक एवं सह–सचिव डा. रामप्रसाद लम्साललले जानकारी दिए ।

लम्सालले विस्तार जारी रहेका सडकको काम सकिएपछि क्रमशः कलंकीसम्मै वृक्षारोपण गरिने जानकारी दिए ।

यसअघि मन्त्रालयले कोटेश्वर–कलंकी सडकखण्डमा वृहत वृक्षारोपण गरिसकेको छ । मन्त्रालयले देशभर पाँच करोड वृक्षारोपण गर्ने योजनाअनुसार अभियान सञ्चालन गरेको छ ।

Published : Monday, 2019 August 12, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया