सहमतिबाट कांग्रेसको पुनर्संरचना निर्देशिका पारित, फोरमलाई पनि बाटो खुल्यो

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका पारित गरेको छ ।

ललिपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तह संगठन पुनर्संरचना निर्देशिका पारित गरेको हो ।

अब सहमतिका आधारमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रदेखि स्थानीय तहको संरचना र नेतृत्व चयन गर्ने बाटो खुला भएको छ ।

नेपालको नयाँ संविधान बमोजिम पार्टी विधान संशोधन गर्ने पहिलो दल बनेको कांग्रेसले त्यसको कार्यान्वयनको पहिलो पाइलामा नै विधानको प्रावधान विपरित सहमतिको नाममा अन्ततः कुनै पनि तहमा अन्तरिम संरचना बनाउँदा कांग्रेसले वकालत गर्ने लोकतान्त्रिक विधि अर्थात निर्वाचनको पद्धतिमा नजाने रणनीति अपनाएको छ ।

यसरी पारित गरिएको निर्देशिका पार्टीको आगामी महासमिति र महाधिवेशनबाट अनुमोदन गर्ने उल्लेख छ ।

पार्टी विधानको दफा ७२ को उपदफा ४ बमोजिम अन्तरिम संरचना सम्बन्धी व्यवस्थामा नयाँ संविधान स्थानीय तहको सीमाङ्कन हेरफेर भएको अवस्थामा १३औं महाधिवेशनमा विभिन्न तहबाट छानिएका प्रतिनिधिले सम्बन्धित तहको कार्यसमिति र नेतृत्व चयन गर्ने व्यवस्था रहेको छ ।

पार्टीभित्रको गुट व्यवस्थापनका लागि व्यस्त नेताहरूका प्रतिनिधिहरू सम्मिलित निर्देशिका मस्यौदा समितिले तयार पारेको अन्तरिम निर्देशिकाले स्थानीय तहदेखि पुर्नसंरचना भएका प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको कार्यसमिति समेत सहमति र तजविजकै आधारमा निर्माण हुने भएको छ ।

नेपाली कांग्रेसभित्र संस्थापन र गैरसंस्थापन पक्षबीच सबै तहमा सहमतिको आधारमा मात्रै अन्तरिम संरचना गठन गर्ने सहमति भएसँगै उपसभापति विजयकुमार गच्छदारको पूर्व फोरम लोकतान्त्रिकबाट प्राप्त क्रियाशील सदस्यहरूको सूची समायोजन समितिको सिफारिसमा केन्द्रीय कार्यसमितिले टुंग्याउने व्यवस्था निर्देशिका राखिएको छ ।

निर्देशिकाको व्यवस्था अनुसार सीमाङ्कन हेरफेर भई नयाँ कायम भएका वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका वा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा दुई वा दुईभन्दा बढी सभापतिहरू भएको र निजहरूबीच एक जनालाई सभापति बनाउने सहमति भइसकेको भए सोहीअनुसार हुने उल्लेख छ ।

यसरी सहमति हुँदा लिखित नगरेको भए सबै सभापतिहरूले सहमति पत्रमा हस्ताक्षर गरी माथिल्लो निकायमा पठाउनु पर्ने प्रावधान राखिएको छ ।

यदि पहिले कुनै सहमति नभएको भए सभापतिहरू आपसमा सल्लाह र सहमति कायम गरी लिखित सहमतिसहितको जानकारी माथिल्लो निकायमा पठाउने उल्लेख गरिएको छ ।

वडा तहदेखि गाउँ, नगर, उपमहानगर र महानगरपालिकासम्ममा यदि सहमति कायम गरी कार्यसमितिको सभापति चयन हुन नसकेको खण्डमा सम्बन्धित निकायको हाल तोकिएको केन्द्रमा रहेको सभापति कार्यसमितिको सभापति हुने प्रावधान राखिएको छ ।

जसले कतिपय निकायमा स्थानीय तहको केन्द्र तोक्ने विषयमाथिको विवादलाई थप चर्काउन सक्ने सम्भावना बढाएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिको हकमा दुई वा दुईभन्दा बढी सभापतिमध्ये प्रतिनिधि सभा, तत्कालीन व्यवस्थापिका संसद क्षेत्रीय कार्यसमितिको सभापति पदमा बढी पदावधि काम गरेको व्यक्ति कार्यसमितिको सभापति हुने व्यवस्था गरिएको छ ।

यदि कुनै नियकाको पुनर्संरचना हुँदा दुईमध्ये जुन क्षेत्रको जनसंख्या र क्रियाशील सदस्यता प्रतिनिधि संख्या बढी छ त्यहि आधारमा कार्यसमितिको सभापति चयन गर्ने र दुई निकायबीच बराबरीको संख्या देखिएको गोला प्रथाबाट नेतृत्व चयनको व्यवस्था सम्बन्धी प्रावधान राखेर कांग्रेसले निर्वाचनको प्रक्रियामा पार्टीलाई लैजानबाट रोकेको छ ।

जुन जिल्लामा दुई निर्वाचन क्षेत्रहरु मिलेर एउटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र कायम भएको छ त्यस्ता जिल्लाका क्षेत्रीय कार्यसमिति स्वतः प्रदेश कार्यसमितिमा रुपान्तरित हुने छन् ।

एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र कायम रहेको सोलुखुम्बु अथवा रसुवा जस्ता जिल्लामा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ वा २ को भूगोलमा रहेका जिल्ला सभापति बाहेकका जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरू सोही प्रदेश सभा क्षेत्रीय कार्यसमितिको पदाकारी र सदस्य हुने तथा प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापतिको हकमा सम्बन्धित क्षेत्रको जेष्ठ सदस्यको अध्यक्षतामा प्रदेश कार्यसमिति गठन हुने प्रावधान राखिएको छ ।

सात प्रदेशको कार्यसमिति गठनको विषयमा भने कांग्रेसको निर्देशिकामा कुनै कुरा उल्लेख गरिएको छैन ।

नियमावली मस्यौदा समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले प्रदेश कार्यसमिति गठनको सवालमा पार्टीमा छुट्टै छलफल गरी निर्णय गरिने जानकारी दिए ।

000

श्रावण २६, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।

केन्द्रीय कार्यसमितिको आजको बैठकमा केन्द्रीय सदस्यहरु— महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, बद्री पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईले ले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—

(१) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५०(५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ । यस निर्णयलाई पार्टीको आगामी महासमिति÷महाधिवेशनमा पेश गरी अनुमोदन गराइनेछ ।

(२) नेपाली कांग्रेस पार्टीका तर्फबाट खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिका वडा नं. १ को खुला वडा सदस्य पदमा निर्वाचित श्री बैजनाथ रिजाल २०७६ साल अषाढ २० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरी नेपाली कांग्रेस पार्टी परित्याग गरेकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३१ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम निज निर्वाचित भएको वडा सदस्य पद स्वतः रिक्त हुने भएकोले, सम्बन्धित मन्त्रालय तथा निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गर्दछ ।

(३) इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद उल जोहा” का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं स्मृद्धिका लागि कार्यसमितिको यो बैठक शुभकामना प्रकट गर्दछ ।

(४) विगत केही दिनदेखि अस्वस्थ भई उपचारार्थ अस्पताल भर्ना हुनु भएका नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व महामन्त्री प्रकाशमान सिंहको शीघ्र स्वास्थ्यलाभको यो बैठक कामना गर्दछ ।

(५) सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको रात्रिबस श्रावण २४ धादिङको वेनीघाट नजिक त्रिुशली नदीमा खस्दा धेरैको मृत्यु र त्यसमा सवार कतिपय यात्रु वेपत्ता तथा गुल्मी र बझाङमा भएको सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाउनुु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्यसमितिको यो बैठक गहिरो दुःख प्रकट गर्दछ । साथै, शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्दछ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७६ श्रावण २९ गते दिउँसो १ बजे पुनः बस्नेछ ।

समवेदना

नेपाली कांग्रेस झापाका महाधिवेशन प्रतिनिधि गोपालकुमार बस्नेतका पिता, इलाम जिल्ला कार्यसमितिका पूर्व सदस्य एवं प्रजातन्त्र सेनानी ९६ वर्षीय टुङ्गबहादुर बस्नेतको गत श्रावण २४ गते झापामा, नेपाली कांग्रेस जिल्ला कार्यसमिति, स्याङ्जाका कार्यवाहक सभापति वुद्धिबहादुर (कुमार) रानाको ७७ वर्षीय पिता एवं समाजसेवी टोपबहादुर रानाको गत श्रावण २३ गते स्याङ्जामा, बारा जिल्ला फेटा गाउँपालिका वडा नं. ७ का नेपाली कांग्रेसका पुराना नेता वासुदेव साह तेलीको गत श्रावण १६ गते, धनुषाको सबैला नगरपालिका वडा नं. ११ का पार्टी अध्यक्ष ५२ वर्षीय राम एकवाल यादव, नेपाली कांग्रेस सुनसरी जिल्लाका सल्लाहकार हिरालाल चौधरीको ममतामयी माता एवं ने.कां. दुहवी नगर कार्यसमितिका सदस्य मुन्ना चौधरी र नेपाल तरुण दल सुनवल नगरपालिका वडा नं. १२ का उपाध्यक्ष देवबहादुर थापा (रामु) को गत श्रावण १६ गते भएको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै बैठकले उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Published : Sunday, 2019 August 11, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया