कोमल ओलीले दिइन सरकारलाई नै झट्का लाग्ने सूचना, माफियाहरूको मनमा चिसो पस्यो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की राष्ट्रिय सभाकी सांसद कोमल ओलीले नवलपुर जिल्लाको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना बन्द भएकोमा चिन्ता व्यक्त गर्दै सरकारले राष्ट्रियकरण गरेर चलाउन सुझाव दिएकी छिन् ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले जुन उदेश्यका लागि भृकुटी कागज उद्योग निजीकरण गरिएको थियो सोही प्रयोजनमा चलाउनुपर्ने माग गरिन् । उनले भनिन्, ‘उद्योगलाई पहिला सञ्चालकहरूलाई नै चलाउन आग्रह गर्ने । यदि उनीहरूले चलाउँदैनन् भने सरकारले राष्ट्रियकरा गरेर चलाउनुपर्छ ।’

‘भृकुटी कागज कारखाना बन्द भएको १० वर्ष भयो । ०६७ साल फागुन १९ गते व्यवस्थापन पक्षले सूचना टाँस गराएर कारखाना बन्द गराएको थियो’, उनले भनिन्, ‘बन्द भएको कारखानाको भग्नावशेष देख्दा मन छियाछिया भएर दुख्छ ।’

आफ्नै देशको कागज उद्योग बन्द भएर खण्डहर बनेको बताउँदै उनले कागज आयात गर्दा मात्रै महिनामा करोडौँ रकम विदेशिएको बताइन् ।

‘उद्योगको केही मेसिन बनाउन भारत लगिएको थियो । तर ल्याइएको छैन’, उनले भनिन्, ‘मित्र राष्ट्र चीन सरकारले भृकुटी कागज उद्योग ०३९ सालमा बनाएर दिएको थियो । ०४९ सालमा निजी करण भएपछि त्यसको हालत बर्बाद भयो ।’

‘गोल्छा अर्गनाइजेशन, काग्रा समूह र कंक्राफ्टलाई ज्वइन्ट भेञ्चरको रुपमा सबै जमिन र संरचनासहित कौडीको भाउमा भृकुटी कागज उद्योग बेचिएको थियो’, नेकपाकी सांसद ओलीले भनिन्, ‘६० बिघा जमिनसहित तत्कालीन समयमा दैनिक आठ टन कागज उत्पादन गर्ने कारखाना जम्मा १२ करोड ९८ लाख उनीहरूले हातमा पारेका थिए । सञ्चालकले आठ विघा जमिन बेचेको देखिएको छ । अहिले लगभग ५२ विघा मात्रै जमिन बाँकी छ ।’

‘१३ टन कागज उत्पादनको नाममा १ अर्ब ५० करोड ऋण लिएर बैंकलाई समेत सञ्चालकहरूले ठगी गरेका छन्’, उनले भनिन्, ‘यो कारखानाको क्षमता बृद्धि गर्नेभन्दै नेपाल बैंक लिमिटेड, राष्ट्र बैंक, एनआईडीसी र हिमालयन बैंकले ऋण दिएका थिए । मेसिन ल्याउनका लागि त्यो ऋण बैंकबाट ल्याएका थिए ।’

‘स्वदेशी कच्चा पदार्थ बाबियो, पराल, बाँस, गहुँको छ्वाली, निकुञ्जको काँस, झुत्रा पेपस, कागजबाट दैनिक १२ हजारदेखि १३ हजार मेट्रिक टनसम्म कागज उत्पादन गर्दै आएको कारखाना बन्द हुँदा विदेशी उत्पादनका कागजले ३ वजार लिएका छन्’, ओलीले भनिन्, ‘त्यस बेला भृकुटी कागज उद्योगबाट भारतमा ३ हजार मेट्रिक टनसम्म कागज निर्यात हुँदै आएको थियो ।’

उनले भनिन्, ‘अहिले २५ देखि ३० करोडको कागज आयात हुने गरेको छ । यति धेरै रकम बाहिरिने गरेको छ ।’

‘०७५ साल वैशाख १५ गते उद्योगमन्त्री मातृका यादवले भृकुटी कागज उद्योग अबलोकन गरेर सरकारले सञ्चालन गर्ने भन्नुभएको थियो’, नेकपाकी सांसद ओलीले भनिन्, ‘सञ्चालकहरूलाई चलाउन दिने । सञ्चालकहरूले नचलाए सरकारले राष्ट्रियकरण गरेर चलाउनुपर्छ ।’

‘गैंडाकोट नगरपालिकाले पनि भृकुटी कागज उद्योगलाई राष्ट्रियकरण गर्न माग गरेको छ’, उनले भनिन्, ‘उद्योगको संरक्षण र सम्बर्द्धनमा सरकारले काम गरोस् । उदेश्य अनुसारको काम नभएपछि अर्को काम गर्न दिनु हुँदैन । सञ्चालक र भू–माफियाहरूले भृकुटी कागज उद्योगको जग्गामा आँखा लगाएका छन् । यसको संरक्षण आवश्यक छ ।’

Published : Sunday, 2019 August 11, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया