दाङ र कपिलवस्तुमा अध्यक्षहरूका गाडीमा आगजनी

घोराही । दाङ जिल्लाको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेर क्षति पुर्‍ याएको छ ।

शनिबार राति करीव १२:४५ बजेको समयमा गाडीमा आगजनी भएको जनाइएको छ ।

अगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नस्ट भएको छ ।

गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको हो ।

गाडीमा आगो लगाएको जिम्मेवारी कसैले लिएको छैन । प्रहरी स्रोतका अनुसार यो आगजनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले गरेको हुन सक्ने अनुमान छ ।

यता, कपिलवस्तु जिल्लाको शनिबार राति मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी गरेको छ ।

सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा शनिबार राति १०:३० बजेतिर आगजनी भएको हो ।

आगजनी किन र कसले गर्‍ यो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताएका छन् । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।

कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए ।

Published : Sunday, 2019 August 11, 7:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया