कांग्रेसका केन्द्रीय नेताहरू बेल्चा लिएर सडकमा, कम्युनिस्ट सरकार लाजले भुतुक्कै (तस्वीर)

नुवाकोट । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महत र नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य बहादुरसिंह लामाले नुवाकोट जिल्लाको टोखा–झोर छहरे सडक खण्ड आफै मर्मत गरेका छन् ।

दुईतिहाइको कम्युनिस्ट सरकारले जिर्ण सडकहरूको मर्मत गर्न बेवास्ता गरेपछि नेपाली कांग्रेस क्षेत्र नम्बर १ नुवाकोटले शनिबार टोखा–झोर छहरे सडक खण्डको आफै मर्मत गरेको हो । नेपाली कांग्रेसका सहमहामन्त्री डा.महत, सांसद लामासहित नेता तथा कार्यकर्ताहरूले आफ्नै पहलमा बाटो खुलाउन सडक मर्मत कार्य गरेका हुन् ।

टोखा–झोर सडक नुवाकोटबाट काठमाडौं प्रवेश गर्ने नाका पर्छ । सडक बर्षातका कारण हिलो भएर गाडी त परैको कुरा सर्वसाधारण हिँड्न समेत समस्या भएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य लामाका अनुसार करीव दुई किलो मिटरको सडकलाई कांग्रेसका कार्यकर्ताले आफै मर्मत गर्ने बताए । यो सडक मर्मत गर्न करीव एक हप्ता लाग्नेछ ।

नेपाली कांग्रेसका नेताहरूले दुईतिहाइको दम्भकारी कम्युनिस्ट सरकार चीर निद्रामा रहेको भन्दै जनताले सडक मर्मत नहुँदा दुःख पाएपछि आफूहरूले मर्मत गर्न लागेको बताएका छन् ।

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले गफ मात्रै गरेर जनता झुक्काउने कार्य गरेको सहमहामन्त्री डा.महतले बताए ।

‘दुईतिहाइको दम्भले गर्दा यो ओली सरकारले जनताका समस्या देख्न सकेन’, उनले भने, ‘जनताले दुःख पाउँदा नेपाली कांग्रेस टुलुटुलु हेरेर बस्न सक्दैन । कांग्रेसका नेता तथा कार्यकर्ता आफै सडकमा गैँची, बेल्चा, एक्जाभेटरसहित सडक मर्मतमा उत्रिएका छौँ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद लामाले जनताको दुःखलाई कांग्रेसले टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।

‘कम्युनिस्टहरूले काम गर्नेभन्दा गफ लगाएर बस्न जाने छन् । जनतालाई ढाँट्न पल्केका छन्’, उनले भने, ‘पटक पटक राज्यका निकायलाई यो बिग्रिएको सडक मर्मतका लागि आग्रह गर्दा समेत बेवास्ता भयो । त्यसपछि हामीले आफैले सडक मर्मत गर्न कांग्रेसका नेता तथा कार्यकर्ताहरू श्रमदान गरेर जनतालाई राहत दिन आएका हौँ ।’

नुवाकोट जिल्लाका दुबै निर्वाचन क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ । नेकपाका सांसदहरू जनताले दुःख पाउँदा पनि कानमा तेल हारेर बसेको नेपाली कांग्रेस नुवाकोटको आरोप छ ।

Published : Saturday, 2019 August 10, 4:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया