धेरैलाई तह लगाउने लामिछाने–बोहराका दिनगन्ती शुरू, खतराको घण्टी बज्यो

भरतपुर । चितवन जिल्लाका पत्रकार शालिकराम पुडासैनी प्रकरणसँगै सञ्चारकर्मी रवि लामिछाने विवादमा तानिएका छन् ।

हुन त विवाद र लामिछाने एकअर्काका पर्याबाची नै बनेका छन् । लामिछानेबाट पीडितहरूको संख्या पनि ठूलै छ । पीडितभन्दा पनि लामिछानेका सामाजिक सञ्जालमा फलोअर्स धेरै छन् ।

जनआस्था साप्ताहिक र त्यसका मालिक एवम् सम्पादक किशोर श्रेष्ठलाई समेत ठेगान लगाउने हैसियत राख्ने लामिछानेलाई पुडासैनी काण्डले तनाव बनाइदिएको छ ।

पत्रकार पुडासैनी र लामिछानेबीच आर्थिक लेनदेनको विषयलाई लिएर यो काण्ड भएको चर्चा छ । त्यति मात्रै होइन एकजना युवतीलाई विवाह गर्न दवाव दिएको आरोप पनि लामिछानेलाई लागेको छ ।

पुडासैनीको भेटिएको भनिएको भिडियोमा लामिछानेलाई धेरै आक्षेप लगाएको चर्चा छ ।

लामिछानेकै निर्देशनमा पुडासैनी बारा र पर्सासम्मका मालदार जिल्लाहरूमा पुगेर रिपोर्टिङ गर्ने गरेका थिए । पुडासैनी र लामिछानेकै कारण धेरैले जागिर गुमाउनेदेखि खाइपाइआएको सुविधा छाड्नु परेका छन् ।

पुडासैनी प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले उनको साथमा रहेको मोबाइल नेपाल प्रहरीको डिजिटल ल्याबमा परीक्षणका लागि पठाएको छ ।

मोबाइलमा भेटिएको अडियो, भिडियो र च्याटका विभिन्न पक्षको अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले पुडासैनीको मोबाइल काठमाडौंमा रहेको नेपाल प्रहरीको डिजिटल ल्याबमा पठाएको हो ।

डिजिटल ल्याबको रिपोर्टका आधारमा प्रहरीले पत्रकार पुडासैनी प्रकरणको अनुसन्धान गर्नेछ ।

डिजिटल ल्याबमा पुडासैनीले आरोप लगाएका विभिन्न व्यक्तिसँगको च्याट, अडियो र भिडियोको विषयमा सुक्ष्म अध्ययन हुनेछ ।

सोही रिपोर्टका आधारमा प्रहरीले अनुसन्धान गर्ने चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिएका छन् ।

टेक्निकल अध्ययन काठमाडौंमा भएपनि घटनाको अनुसन्धान भने जिल्ला प्रहरी कार्यालय चितवनले नै गर्नेछ ।

आवश्यक देखिएमा काठमाडौंबाट टेक्निकल टोली चितवन बोलाउन सकिने प्रहरीले जनाएको छ ।

पुडासैनी प्रकरणमा सञ्चारकर्मी लामिछानेमाथि ज्यानदिनका लागि दुरुत्साहनमा अनुसन्धान हुनेछ ।

पुडासैनीको मोबाइलमा फेला परेका भिडियो र अडियोअनुसार लामिछाने अनुसन्धानमा तानिने भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयले घटनाको प्रारम्भिक विवरण प्रहरी प्रधान कार्यालयमा पठाएको छ ।

मोबाइलमा फेला परेका सन्देशमा एक महिलाका विषयमा सञ्चारकर्मी लामिछाने र दीपक बोहराले धेरै नै टर्चर दिएको आरोप छ ।

ती महिलालाई विवाह गर्न बाध्य पार्ने वा जबरजस्ती करणी गरेको आरोप लगाउने धम्की दिएपछि आफूले ज्यानफाले पुडासैनीको भिडियो सन्देशमा रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।

सञ्चारकर्मी लामिछानेले आफ्नो कारणले पुडासैनीले नदिएको दावी गरेका छन् ।

बुधबार फेसबुकमार्फत लामिछानेले घटनाका विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

लामिछानेले पुडासैनीले एक गल्ती गरेको आरोप पनि लगाएका छन् ।

पुडासैनीको मोबाइलमा रेकर्ड गरिएका दुई वटा ८ मिनेट र ३ मिनेटका रिपोर्ट फेला परेको छ ।

पुडासैनीको बुधवार बेलुकी अन्त्यष्टि गरिएको छ । भिडियो पाउनुअघि पुडासैनीको ज्यान कसैले लिएको आशंका गरिएको थियो ।

भिडियो हेरेपछि पुडासैनीलाई ज्यानफाल्नका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरूले शव बुझेर अन्त्यष्टि गरिएको परिवारले जनाएको छ ।

पत्रकार पुडासैनी सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

दुई महिना अघिसम्म न्यूज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनमा आबद्ध भएका थिए ।

पुडासैनी काण्डसँगै सञ्चारकर्मी लामिछाने र पत्रकार दीपक बोहराका बारेमा छानविन गर्नुपर्ने माग उठेको छ । लामिछाने र बोहराको सम्पत्तिको छानविनको माग पनि सामाजिक सञ्जालमा उठेको छ ।

आदर्शका कारा गरेर दुनियालाई धम्काउँदै आएको आरोप लागेका लामिछाने र बोहराको लिभिङ स्ट्याण्डर ह्वात्तै बढेको छ । उनीहरूको सम्पत्ति पनि बढेको छ ।

उनीहरूको बैंक खातादेखि आय स्रोतको छानविन गर्न माग उठेको हो । पत्रकार बोहराले चढ्दै आएको गाडीका विषयमा पनि सामाजिक सञ्जालमा प्रश्नहरू उठेका छन् ।

पुडासैनी काण्डसँगै पत्रकार बोहराले चितवनको सौराहमा रहेको फरेष्ट रिसोर्ट होटेललाई धम्की दिएको चर्चा पनि हुन थालेको छ । होटेलमा भाईलाई लिएर गएका बोहराले २२ हजार बिल तिर्न अनाकानी गरेका थिए ।

लामिछाने र बोहराको टेलिभिजन कार्यक्रमलाई फरेष्ट रिसोर्टले ठूलो सहयोग गरेको थियो । पछि बोहराले रिसोर्टलाई धम्काएको चर्चा सौराहमा छ ।

लामिछाने र बाेहराका विरूद्व प्रहरीका साथै न्यायिक निकायहरूमा थुप्रै उजरी छन् । तर, उनीहरूविरूद्व कारबाही चलाउन ती निकाय डराउने गरेका छन् ।

Published : Friday, 2019 August 9, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया