कांग्रेसका महिला नेतृहरूले पीडितलाई बाँडे राहत, पुछे गरिवका आँशु

भीमफेदी । नेपाल महिला संघको ७२औं स्थापना दिवसको अवसरमा महिला संघ मकवानपुरले भीमफेदी गाउँपालिकाको वडा नम्बर ५ का बाढीपीडितहरूलाई शुक्रबार खाद्यान्न सामाग्री वितरण गरेको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरेकी हुन् । महिला संघ मकवानपुर सभापति लक्ष्मी श्रेष्ठका अनुसार बाढीपीडितहरूलाई राहत दिने विषयमा सरकारी निकायले ध्यान नदिएपछि महिला संघले राहत वितरण गरेको बताइन् ।

नेतृ उपाध्यायले महिला संघले ७२औं स्थापना दिवसमा जिल्लामा कोठामा बसेर कार्यक्रम गर्नुभन्दा बाढीपीडितको घाउँमा मल्हमपट्टी लगाउने कार्यको प्रशंसा गरिन् ।

नेपाली कांग्रेसले देशभरि विपतमा परेकाहरूलाई सहयोग गरिरहेको बताउँदै नेतृ उपाध्यायले सरकारले केही नगरिरहेको अवस्थामा कांग्रेस मकवानपुर जिल्लाभरि पीडितको घरदैलोमा पुगेर सहयोग गरिरहेको बताइन् ।

गत असार २७ गतेदेखि परेको अविरल वर्षातका कारण गएको बाढीपहिरोले घर भत्केका भीमफेदी गाउँपालिका ५ दमार, बासथला टोलका १० घरपरिवारलाई महिला संघ मकवानपुर र कांग्रेस भीमफेदी गाउँपालिकाको संयुक्त सहयोगमा जस्तापाता, चामल, तेल, नुन, चाउँचाउँ, विस्कुट, भाँडाकुँडा, लत्ताकपडालगायतका सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, भीमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठ, नेपाल महिला संघ २ नम्बर क्षेत्रीय अध्यक्ष शान्ता बिक, भीमफेदी गाउँपालिका सहसंयोजक सुमित्रा थिङले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा महिला विभाग प्रमुख अमृता थापा मगर, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेता नारायण थापामगर, जगतसिं वाईबा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, गौतम समाज ३ नम्बर प्रदेशका अध्यक्ष होमनाथ गौतम, महिला संघ नगर अध्यक्ष लक्ष्मी गौतम, नेपाल ट्रेड युनियन मकवानपुरकी उपाध्यक्ष शर्मिला श्रेष्ठ, एकल महिला संयोजक टीका पौडेल, मनहरी गाउँपालिका अध्यक्षका प्रत्यासी शंकर न्यौपाने, महिला नेतृ गोरीमाया लामा, तरुण दल भीमफेदी गाउँपालिका संयोजक मित्रबन्धु सिंजालीलगायतको उपस्थिति रहेको थियो ।

Published : Friday, 2019 August 9, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया