देउखरीमा सरकारविरुद्ध प्रदर्शन, कांग्रेस र नेकपाको समर्थन

लमही । हुलाकी सडकमा परेका जग्गा धनीलाई वितरण गरिएको मुआब्जा रकम थोरै भएको भन्दै दाङको देउखुरीस्थित लमही नगरपालिका वडा नम्बर ४ सेम्रहवा गाउँका बासिन्दाले प्रदर्शन गरेका छन् ।

बिहीबार उनीहरूले दुईतिहाइको कम्युनिस्ट सरकारविरुद्ध मुआब्जा बढाउन माग गर्दै प्रदर्शन गरेका हुन् ।

जग्गाको मूल्यांकन चलनचल्तीको मूल्यभन्दा निकै थोरै भएको भन्दै स्थानीय आन्दोलित भएको नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए ।

कालोझण्डा र ब्यानर टाँगेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका स्थानीयले सडक अवरुद्ध पारेर संघर्ष गरेका छन् । उनीहरूले लमही–कोइलाबास सडक अवरुद्ध पारेपछि सवारी आवागमन प्रभावित बनेको थियो ।

लमही–कोइलाबास सडक अन्तर्गत सेम्रहवा क्षेत्रमा डेढ किलोमिटरको दूरीमा पर्ने जग्गाको मूल्यांकन तीन थरीको छ ।

प्रतिवर्गमिटर २५ सय, १५ सय र ५ सय २५ रुपियाँ तोकिएको छ ।

स्थानीयले कम्तिमा २५ सय रुपियाँ प्रतिवर्गमिटर रुपियाँ कायम गर्न माग गरेका छन् । उनीहरूको मागमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले समर्थन जनाएका छन् ।

लमही–कोइलाबास सडक क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण गर्न जिल्लामा प्राप्त भएको ३५ करोड बजेट मध्येबाट अहिलेसम्म ३२ करोड ११ लाख ४४ हजार एक सय ७८ रुपियाँ वितरण भएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा रकम वितरण भैरहेको हो । अब २ करोड ९७ लाख २९ हजार ४४ रुपियाँ वितरण गर्न बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

अहिलेसम्म ३ सय ८७ कित्ताको मुआब्जा वितरण गरिसकिएको छ । ३२ वटा कित्ताका जग्गा धनीमध्ये १० जना सम्पर्कमा आएको र बाँकी २२ कित्ताका जग्गाधनी सम्पर्कमा आउन सकेका छैनन् ।

Published : Thursday, 2019 August 8, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया