प्रहरीलाई सुशासनको नमूना बनाउँछौँः आइजीपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सुशासनको पहरेदारी गर्ने नमूना संगठनको रुपमा स्थापित गर्न सक्रिय रहेको बताएका छन् ।

नेपाल पूर्वप्रहरी संगठनका पदाधिकारीहरूसँग बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीका वर्तमान गतिविधि र चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।

सांगठनिक सन्दर्भ, शान्ति सुव्यवस्था, अपराध नियन्त्रण र अनुसन्धानको अवस्था, नेपाल प्रहरीका सुधारका प्रयासहरु र समुदाय प्रहरी साझेदारी कार्यक्रमबारे उनले जानकारी गराए ।

विशिष्टिकृत अनुसन्धान इकाईको गठन, विध्वंसात्मक गतिविधि नियन्त्रण, लागूऔषध तथा अवैध सुन बरामद एवं अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी कार्य गर्दै आएको आइजीपी खनालले बताए ।

कर्मचारीको वृत्ति विकास, आर्थिक सुशासन, भौतिक पूर्वाधार विकास, निस्शुल्क जग्गा प्राप्ति समेतका उपलब्धीबारे उनले प्रकाश पारे ।

नीतिगत तथा कानुनी विकास, कल्याणकारी योजना, आन्तरिक सुपरिवेक्षण, अन्तर्राष्ट्रिय समन्वयमा नेपाल प्रहरीले उल्लेख्य उपलब्धी हासिल गरेको समेत उनले चर्चा गरे ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम र यसका गतिविधिबारे प्रकाश पार्दै खनालले यस अवधारणा संस्थागत होस् भन्ने धारणा व्यक्त गरे ।

प्रहरी महानिरीक्षक खनालले ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रणमा विशेष अभियान संचालन, राजश्व योगदानको साथै विपद् उद्दारमा नेपाल प्रहरीले सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए ।

सूचना प्रविधि, बेरुजु फर्छ्यौट लगायतका क्षेत्रमा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय पुरष्कार प्राप्त भएबाट नेपाल प्रहरीको अन्तर्राष्ट्रिय ख्याती बढेको उनले बताए ।

Published : Thursday, 2019 August 8, 5:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया