पूर्वएमालेहरू एक ठाउँमा, माओवादीहरूलाई तनाव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र राजनीतिक कार्यदिशालाई लिएर विवाद भइरहेका बेला दोस्रो तहका नेताहरू एक ठाउँमा आउन थालेका छन् ।

विशेष गरेर पूर्वएमाले र पूर्वमाओवादीहरूबीच सीमा रेखा देखिएको छ । माओवादी पृष्ठभूमि भएका नेताहरूभन्दा पनि पूर्वएमालेका नेताहरू एक ठाउँमा बस्न खोजेका छन् ।

नेकपा सचिवालय सदस्यद्वय वामदेव गौतम र ईश्वर पोखरेलबीच दूरी घटेको छ । लामो समयदेखि उनीहरूका बीच तितो सम्बन्ध थियो । गौतम जनताको बहुदलीय जनवादका पक्षमा उभिएपछि पोखरेलसँगको समबन्ध घटेको छ ।

गौतम जबजको पक्षमा छन् । उनले राजनीतिक अर्थशास्त्रमा जनताको बहुदलीय जनवादले थपेको योगदानको नाम रहेको बताएका छन् । क्रमिक आर्थिक विकास र त्यस्तै वैज्ञानिक समाजवादमा जनताको बहुदलीय जनवादले थपेको योगदानको नाम हो बहुलवादी खुला समाज रहेको गौतमको भनाइ छ ।

पोखरेल निकट केन्द्रीय सदस्य सूर्य थापाले पनि गौतम र पोखरेलबीच जबजमा विचार मिलेको स्वीकार गरेका छन् । ‘उहाँ सन्तुलनकारी विचारभन्दा बढी प्रायः हाइजम्प, लङ्जम्प र ट्रिपलजम्प हान्नुहुन्छ र पो ! त्यसैकारण कहिले जबज विश्वब्रह्माण्डभरि लागू हुन्छ त कहिले अब समाजवाद नै हो, जबजको काम छैन भनेको सुन्न सकिन्छ’, थापाले भनेका छन् ।

‘यसपालि सन्तुलित व्याख्या र विश्लेषण गर्नुभएको छ’, उनले भनेका छन्, ‘कतिपय असहमतिका बाबजुद सही विचारलाई त सही नै भन्नुपर्‍यो नि ।’ थापा कुनै बेला गौतम निकट मानिन्थे । गौतमसँग विवाद परेपछि थापा पोखरेल निकट भएका हुन् ।

पोखरेलले पार्टी एकतापछि पहिलोपल्ट ‘जबज’बारे टिप्पणी गरेका थिए । उनले आफू ‘जबज’को विचारलाई लिएर देशव्यापी छलफलमा जाने बताएका थिए । यसैकारण पार्टी स्कुल विभागमा लफडा परेको थियो । ‘जबज’को डर पार्टीभित्र पसेपछि पूर्व माओवादीले उनलाई कुनै हालतमा स्कुल विभाग दिन नहुने अडान राखेका थिए ।

गौतम र पोखरेलबीच विगतमा पनि आपसी सम्बन्धका अनेक आरोहअवरोह छन् । ६५ सालमा बुटवलमा भएको पार्टीको आठौं महाधिवेशनमा यी दुवै नेताहरू खड्गप्रसाद ओलीविरुद्ध थिए । उनीहरूले झलनाथ खनाललाई जिताएका थिए ।

गौतम त्यसबेला उपाध्यक्ष र पोखरेल महासचिव जित्नसमेत सफल भएका थिए । त्यसपछिका दिनमा भने गौतम पोखरेल गुटमा एकै ठाउँ रहेपनि विचारमा फरक धारमा थिए । पोखरेल माओवादीप्रति अनुदार बने भने गौतम निकट भएका थिए ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध माओवादीले सञ्चालन गरेको आन्दोलनका पक्षमा उभिँदै गौतमले एमालेका ६५ नेताहरूको हस्ताक्षर संकलन गरेर नेपालको राजीनामा माग गरेका थिए । पोखरेल भने नेपाल नेतृत्वको सरकारको बचाउमा लागेका थिए ।

पार्टीको ९औं महाधिवेशनमा आइपुग्दा यी दुई नेता खनाल समूह छाडेर ओली समूहमा थिए । दुवै नेताहरू माधव नेपालविरुद्ध ओलीका पक्षमा लागेका थिए । यसपटक पनि ओलीलाई अध्यक्ष जिताउन उनीहरु सफल भए । सोही महाधिवेशनबाट गौतम उपाध्यक्ष र पोखरेल फेरि महासचिव चुनिएका थिए ।

पछिल्लो समयमा गौतम पोखरेलको सम्बन्धमा चिसो बढेको थियो । अहिले गौतम ओलीसँग छैनन् । पोखरेल ओली समूहमै छन् । जनताको बहुदलीय जनवादबारे दुई नेताका समान विचार बाहिर आएपछि भने उनीहरुबीच दूरी घटेको स्पष्ट भएको छ ।

‘जबज’को पक्षमा एमाले पृष्ठभूमि भएका नेताहरू एक ठाउँमा आउने प्रयासमा छन् । तर, माओवादी पृष्ठभूमि भएका नेताहरू ‘जबज’को विपक्षमा छन् । यी कारणले पुनः एमाले नेताहरूलाई एक ठाउँमा ल्याउने माध्यम बनेको छ ।

Published : Thursday, 2019 August 8, 1:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया