महन्थ ठाकुरका मान्छेकाे हर्कतहरू भारतमा भण्डाफाेर, ठूलाे गिराेह पक्राउ

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता महन्थ ठाकुरका खास व्यक्ति भारतमा बैंक डकैती, चोरी र ठगी काण्डमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी जिल्ला पिपरा गाउँपालिका वडा नम्बर १ एकरहियाका मनोज ठाकुर रहेका छन् । मनोजलाई महन्थ ठाकुरले प्रदेश निर्वाचनका बेला प्रदेश सांसद बनाउन समानुपातिक सूचीमा राखेका थिए ।

पूर्वसांसद केदारनन्दन चौधरीको दवावमा महन्थ ठाकुरले मनोज ठाकुरलाई प्रदेश २ को समानुपातिक सांसदको सूचीमा राखेको त्यस बेला चर्चा थियो ।

महन्थ ठाकुर र केदारनन्दन चौधरीले मनोज ठाकुरसँग पैसा लिएर समानुपातिकको सूचीमा राखेको एक नेताले बताए । तर, राजपाको भोट कम आएपछि मनोज ठाकुर प्रदेश सांसद बन्न पाएनन् । उनलाई प्रदेश सासद बनाउन राजपाका अर्का नेता अनिलकुमार झापनि ज्यान फालेर लागेका थिए ।

प्रदेश सांसद बन्न नसकेपछि भारतीय नागरिकहरूसँग मिलेर नेपाल र भारत दुबैतिर मनोज ठाकुरले ठगी धन्दा चलाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मनोज ठाकुरसहितको चार जनाको गिरोहर्लाइ भारतको उत्तर प्रदेश प्रहरीले बैंकमा ठगी र जालसाजी गरेर ऋण लिएको अभियोगमा पक्राउ गरेको छ ।

उत्तर प्रदेशको स्पेशल टास्क फोर्सले बुधबार एसटीएफको नोएडा यूनिटले बैकमा जालजासी र चोरी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको हो ।

मनोज ठाकुरसहितका चार जनालाई पक्राउ गरेको विषयलाई उत्तर प्रदेश स्पेशल टास्क फोर्स (एसटीएफ) ले ठूलो उपलब्धी भएको जनाएको छ ।

एसटीएफको नोएडा यूनिटले बैकमा जालजासी गरेर ऋण लिने गिरोहको पर्दाफास गरेको छ ।

पक्राउ पर्नेमा मनोज ठाकुर, संजय ठाकुर, अनिमेश ठाकुर र अजीत शर्मा छन् । पक्राउ परेका मध्ये अजीत शर्मा मात्रै विहारका हुन् । अरु तीन जना नेपाली नागरिक हुन् । मनोज, संजय र अनिमेश ठाकुर तीन दाजुभाई हुन् ।

लामो समयदेखि यो चार जनाको समूह नोएडामा ठगी धन्दामा सक्रिय थियो । यो समूहले पहला एउटा फर्जी कम्पनी बनाएका थिए । सोही कम्पनीमार्फत उनीहरूले बैंकमा ठगी धन्दा चलाउँदै आएका थिए ।

यो समूहले आईसीआईसीआई बैंकबाट भारु २ करोड र सिटी बैंकबा १० लाख भारतीय रुपियाँ ऋण लिएर ठगी गरेको अनुसन्धानबाट खुलेको भारतीय प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।

दुई करोड दश लाख भारतीय रुपियाँ ठगी गरेको अभियोगमा ती चार जनाविरुद्ध नोएडा सेक्टर २० को थानामा एफआईआर दर्ता गरिएको छ ।

यसका अलावा यो चार जनाको गिरोहले दर्जनौं बैंक र फाइनान्स कम्पनीहरूमा पनि नकली दस्तावेजका आधारमा करोडौं भारतीय रुपियाँ ठगी गरेको खुलेको छ ।

उनीहरूले साना बैंकहरूमा आफ्नो नाममा खाताहरू समेत खोलेका छन् । ती खाताहरूमा पैसा भेटिएको छ ।

भारतीय पुलिसले ती चार जनाको नाममा बैंकमा रहेको खाताको भारु २२ लाख रुपियाँ लाख फ्रीज गरिदिएको छ । यो गिरोहसँग रहेको २२ हजार नगद बरामद भएको छ ।

यो चार जनाको गिरोहसँग नेपालका केही सक्कली र केही नक्कली दस्तावेजहरू पनि बरामद भएका छन् । बरामद भएका दस्तावेजहरूमा एक थान नेपाली पासपोर्ट, २ वटा नेपाली नागरिकताको प्रमणपत्र र ६० हजार नेपाली रुपियाँ रहेका छन् ।

त्यसै गरी नेपालका ४२ प्यान कार्ड, ८ आधार कार्ड, २४ मतदाता कार्ड, ५६ वटा डेबिट कार्ड, ५६ वटा क्रेडिट कार्ड, २१ वटा बैंकको पास बुक, ४४ वटा चेक बुकसहित विभिन्न सरकारी कार्यालय र विभाग तथा बैंकका १७ वटा नक्कली छापहरू बरामद भएका छन् ।

Published : Thursday, 2019 August 8, 8:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया