गगन थापाका गतिला कुराले कम्युनिस्ट मन्त्रीलाई ‘फटेफटे’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारबाटै संविधान उलंघन हुने गरी विधेयकहरू पेश हुने गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा खानेपानी विधेयकमाथिको छलफलमा थापाले संविधानको धारा ४७ अनुसार तीन वर्षभित्र विधेयक पारित गरिसक्नुपर्नेमा ढिला गरी विधेयक पेश भएको बताए ।

‘म अन्य माननीयहरूले भनेजस्तो मन्त्रीजीलाई धन्यवाद भन्न सक्दिनँ’, सांसद थापाले भने, ‘किनकी संविधानको धारा ४७ मा यो विधेयक तीन वर्षभित्रमा पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।’

उनले प्रश्न गर्दै भने, ‘यो एउटा विधेयक मात्रै यत्रो महिनापछि ल्याउने विशेष अधिकार कसरी प्राप्त भयो ?’

ढिला गरी विधेयक ल्याएर सरकारले संविधानको उलंघन गरेको थापाको भनाइ छ । ‘यो विधेयक अहिले आएर आफ्नो सुविधा र आवश्यकता अनुसार ल्याउन पाइन्छ ?’, थापाले प्रश्न गर्दै भने, ‘यो संविधानको उलंघन हो कि होइन ? प्रक्रिया र समयमा आपत्ति छ, जवाफ चाहियो ।’

सरकारले संविधानको उलंघन सजिलैसँग गर्न पाउँछ भने अरूले गर्न पाउँछ कि पाउँदैन भन्ने प्रश्न थापाले उठाएका छन् ।

‘प्रश्न मन्त्रीजीप्रति मात्र होइन सभामुखप्रति पनि आग्रह छ, यो विषय पटकपटक उठाएको छु’, उनले भने, ‘खानेपानीको विधेयक ढिलो आउँदा के फरक पर्छ भन्दा पनि संविधानको पालना भए छ कि छैन त्यो महत्वपूर्ण हो ।’

सांसदहरूले उठाएका प्रश्नमा खानेपानीमन्त्री बिना मगरले ‘विधेयकमाथि धन्यवाद दिने र दिन नसक्ने माननीयलाई धन्यवाद दिन चाहन्छु’, भन्ने जवाफ दिएकी थिइन् ।

Published : Wednesday, 2019 August 7, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया