नेकपाले पार्टी कार्यालय बनाउन राज्यको ढुकुटी चलाउने, शंकर पोखरेलले मागे पैसा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य समेत रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टी कार्यालय बनाउन राज्यको सहयोग लिने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले बुधबार फेसबुकमा स्टाटस लेखेर राज्यको तर्फबाट पार्टी कार्यालय बनाउन सहयोग लिनुपर्ने बताएका हुन् । ‘भूकम्पपछिको पुनर्निर्माण योजना अन्तर्गत कानूनतः प्राप्त हुने सहयोग लिनेकुरा पनि अनुचित हुने छैन’, मुख्यमन्त्री पोखरेलले बताएका छन् ।

सत्तारुढ नेकपाले काठमाडौंको धुम्रबाराहीमा रहेको पासाङ ल्हामु शेर्पा प्रतिष्ठानलाई सरकारले उपभोग गर्न दिएको सरकारी जग्गा बनेको घरमा भाडा लिएर बसेको छ ।

नेकपाले नै सरकारी जग्गा कब्जा गरेर केन्द्रीय कार्यालय राखेपछि आलोचना भइरहेको छ । प्रदेश ५ कै मुख्यमन्त्रीले पार्टी कार्यालय बनाउन सरकारको सहयोग लिने भनेपछि अर्को हँगामा भएको छ ।

मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘विनासकारी भूकम्पमा परी तत्कालीक नेकपा(एमाले)को वल्खुस्थित कार्यालय क्षतिग्रस्त भएपछि धुम्वाराहीमा कार्यालय अस्थायी रुपमा सारिएको हो ।’

‘जनताका भत्किएका घर बनाउने कुरामा जोडदिनु परेका कारणले नयाँ कार्यालय भवन बनाउन ध्यान नपुगेकै हो’, पोखरेलले भनेका छन्, ‘धुम्वाराहीमा सधै वस्ने होइन । विस्थापितलाई अस्थायी रुपमा ठाउ दिनु राज्यको पनि कर्तव्य हो । यसलाई दुरुपयोगको जामा लगाउने कस्ट नगरेकै भए राम्रो हुन्थ्यो ।’

‘तर प्रश्न उठिनै सकेपछि अब नेकपाले आफ्नो कार्यालय बनाउन लाग्नु पर्दछ’, पोखरेलले भनेका छन्, ‘अहिलेको अस्थायी कार्यालयमा आवश्यक ठाउँको अभाव पनि छ । एकीकृत पार्टीलाई परिचालनगर्ने हो भने श्रोतको पनि अभाव हुनेछैन ।’

Published : Wednesday, 2019 August 7, 4:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया