कम्युनिस्टहरूले जुट मिल कारखाना बेचेर खान थालेः डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले विराटनगर जुट मिल कारखानामा भ्रष्टाचार भएको दाबी गरेकी छिन् ।

मंगलबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै सांसद डा. संग्रौलाले जुट मिलमा भ्रष्टाचार भएको दाबी गरेकी हुन् । कम्युनिस्टहरू मिलेर जुट मिल कारखाना बेचेर सम्पत्ति कब्जा गर्न थालेको बताइन् ।

‘नेपालको सबैभन्दा पुरानो ऐतिहासिक उद्योग विराटनगर जुट मिलमा भ्रष्टाचार भएको छ’, उनले भनिन् ।

सांसद संग्रौलाले जुट मिलको अध्यक्ष हुँदा नीलहरि काफ्लेले पार्टपुर्जादेखि पर्खाल भत्काएर इँटासमेत बिक्री गरेको आरोप लगाइन् ।

उनले अर्का अध्यक्ष वसन्त वनले जुट मिलको सेयर मूल्य घटाउनुका साथै स्थानीयलाई दिएको सेयर सरकारका नाममा रहेको भन्दै ढाँटेको दाबीसमेत गरिन् ।

‘नीलहरि काफ्ले यस मिलको अध्यक्ष भए । मिलका पार्टपुर्जामात्र बिक्री गरेनन् यहाँका इँटा पर्खालहरू भत्काएर पनि बेचे’, उनले भनिन्, ‘जब वसन्त वन अध्यक्ष भए, उनले जुट मिटलको ६८ प्रतिशत सेयरलाई ३२ प्रतिशतमा झारे ।’

उनले भनिन्, ‘त्यहाँका स्थानीयबासीले विरोध गर्दा उनले भने– ६८ प्रतिशत शेयर सरकारको नाममा छ । तर, सेयर आज पनि सरकारको नाममा छैन । जुन कुरा रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरले स्पष्ट पारिसकेको छ ।’

सांसद संग्रौलाले वनले मिलका कर्मचारीलाई हटाएर नयाँ कर्मचारी ल्याएको भन्दै मिलबाट उत्पादन भएको सुतली बेचेको रकम हिनामिना गरेको बताइन् ।

उनले जुट मिलका कर्मचारीहरू तलबले नपाएको पनि संसदलाई जानकारी गराइन् ।

Published : Tuesday, 2019 August 6, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया