‘अरिँगाल’हरू धेरै भुँ…भुँ… गरेपछि प्रदीप गिरीले सिकाए सबक

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संसदको अवरोध खोल्ने सन्दर्भमा भएको सहमतिलाई राजनीतिक आरोप प्रत्यारोपको विषय नबनाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ध्यानाकर्षण गराएका छन् ।

मंलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले सत्तापक्ष र प्रतिपक्षी दल दुवैले संसदीय मर्यादा कायम गर्न गरेको निर्णयलाई दलीय आधारमा व्याख्या र विश्लेषण नगर्न सचेत गराए ।

उनले संसदीय प्रणालीका बारेमा फरक मत राख्ने र वर्गशत्रुका रुपमा रहेका दुई पक्षको खतरनाक द्वन्द्वबाट निकास निकालेर प्रतिनिधिसभालाई स्वीकार गरेको स्मरण गराए ।

उनले असहमत हुनका लागि सहमति हुने थलोको रुपमा प्रतिनिधिसभा रहेकाले त्यसको मर्यादा कायम गर्नका लागि सहभागी सबैले ध्यान पुर्‍याउनुपर्ने बताए ।

‘सभा अवरोधका सन्दर्भमा हिजो भएको सहमतिको बारेमा अहिले टिकाटिप्पणी हुँदैछन्’, उनले भने, ‘प्रतिपक्ष हा¥यो, प्रतिपक्षीले सम्झौता खोज्यो । होइन, सत्तापक्ष आत्तियो । सत्तापक्षले प्रतिपक्षको मान्यो । यी मेरा कानमा परेका शब्दहरू हुन् ।’

‘हिजो दुवै पक्षले प्रतिनिधिसभाको मर्यादा कायम गरेर आ आफ्नो ठाउँबाट योगदान गरेर विशेष गरी सभामुखकै पहलबाट भएको हो’, नेपाली कांग्रेसका सांसद गिरीले भने, ‘यसका लागि राजनीतिक भनाभनको विषय नबनाउनुहोस् ।’

‘प्रतिपक्षीले उच्चकोटीको सदाशयता देखाएको छ । सरकारले पनि विनम्रता देखाएको छ’, उनले भनेका छन् ।

सांसद गिरीले संसदीय प्रणालीलाई गन्तव्य र सफलतामा पु¥याउने काम चुनौतीपूर्ण रहेको बताए ।

उनले विद्यमान हिंसाको परम्परा, बेरोजगारी, आर्थिक क्रियाकलाप, भ्रष्टाचार लगायतले प्रणालीलाई नै असफल बनाउन लागेकाले प्रणालीलाई जीवित राख्न आरोप प्रत्यारोपमा नलागी परस्पर सम्मान गर्दै प्रणाली जोगाउने तर्फ दृढ हुनुपर्ने बताए ।

उनले मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट प्रभावितका लागि संघीय राज्यको सिद्धान्त पालना नहुन्जेल उदारतापूर्वक केन्द्र सरकारबाट अनुदान पठाउने व्यवस्था मिलाउन गृहमन्त्रालय र सरकारलाई आग्रह गरेका छन् ।

Published : Tuesday, 2019 August 6, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया