कांग्रेसका ‘गद्धार’हरूले पार्टी छाडे, समाजवादीमा प्रवेश

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तीन दर्जन बढी नेता कार्यकर्ता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

नेकपा र कांग्रेसको नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै उनीहरूले समाजवादी पार्टी प्रवेश गरेका हुन् ।

समाजवादी पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार आयोजित पार्टी प्रवेश समारोहमा अध्यक्षद्वय उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले नवप्रवेशी नेता तथा कार्यकर्तालाई अबिर टीका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सक्रीय नेता लक्ष्मण सिंहको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता कांग्रेस परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस डडेलधुराका जिल्ला सभापति कर्ण मल्लले पार्टी छाडेकाहरू सबै अवसरवादी र भगौडाहरू रहेको बताएका छन् ।

‘निर्वाचनका बेला अन्तरघात गर्नेहरूले पार्टी छाडेका हुन्’, उनले भने, ‘यस्ता गद्धारहरूलाई कांग्रेसमा बस्ने अधिकार छैन ।’

पार्टी प्रवेश गर्नेमा सदानन्द पाठक, दीपेश भट्ट, रोहित पाठक, पुरुषोत्तम उपाध्याय र ललितपुरका समाजसेवी सबिना कायस्थ, ईन्दिरा शाक्य लगायतका सक्रीय नेता कार्यकर्ता रहेका छन् ।

नवप्रवेशी नेता कार्यकर्तालाई अध्यक्षद्वय भट्टराई र यादवले पार्टीको नीति, सिद्धान्त अनुसार सक्रिय भई कार्य गर्न निर्देशन दिएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा डा. भट्टराई, उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका उपेन्द्र यादव, पार्टी उपाध्यक्ष युवराज कार्की, उपमहासचिव प्रकाश अधिकारी, सचिव प्रशान्त सिंह, केन्द्रीय सदस्य एवं स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. केके राई र केन्द्रीय दीपक कार्की लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2019 August 6, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया