कम्युनिस्टका अगाडि कांग्रेसले देखायो ठूलो छाती

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनलाई जनसरोकारको पक्षमा प्रभावकारी बनाउन सभामुखले नेतृत्वदायी र प्रभावकारी भूमिका खेल्न आग्रह गरेको छ ।

सर्लाही घण्टापछि झण्डै वीस दिनदेखि अवरुद्ध संसद बैठक नेपाली कांग्रेस र राजपा नेपालले खोलिदिएका छन् । उनीहरूले दुईतिहाइको कम्युनिस्ट सरकारलाई ४० ईञ्चको चौडा छाती बनाएर राजनीतिक निकास दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकको सुरुमा विशेष समय लिएर कांग्रेस सचेतक पुष्पा भुसालले सभामुखको भूमिका सदनलाई जनताको पक्षमा लोकतन्त्रको प्रत्याभूति र राज्यलाई जनउत्तरदायी र पारदर्शी बनाउने विषयमा विशेष भूमिकाको अपेक्षा गरेको बताइन् ।

जनसरोकारका विषयमा सदनभित्र आवाज उठ्नु पर्छ र सदन प्रभावकारी बनाउने कुरामा सभामुखले भूमिका खेल्ने कुरामा विश्वस्त छ ।

कांग्रेसले कुनै पनि हत्या, हिंसाको पक्षमा विश्वास हिजो पनि नगरेको र आज पनि त्यहि रहेको बताउँदै सबै समस्याको शान्तिपूर्ण माध्यमबाटै निकाल्नु पर्ने विश्वास गरेको बताइन् ।

सर्लाहीका तीन घटनालाई मानव अधिकार र जनसरोकारका विषय बनाएर यसबारे सदनमा आवाज उठाउने कोशिश गरी राज्यको ध्यानाकर्षण गराउन चाहेको छ ।

सदन अबरोध गर्न विपक्षी दलले नचाहेको बरु यसलाई थप प्रभावकारी बनाएर लोकतन्त्र र संविधानलाई अझ प्रभावकारी बनाउँदै राज्यलाई जिम्मेवार बनाउन चाहेको बताइन् ।

उनले कांग्रेसले उठाएका विषयवस्तुहरुको कारण सदन अबरुद्ध भएको बताइन् । भुसालले सदन अवरोध हुनु उसको चाहना नभई बाध्यताको उपज भएको पनि बताइन् ।

सदनमा उठेका विषयवस्तुहरुलाई संसदबाटनै सम्बोधन गर्ने र जनताले लोकतन्त्रको अनुभूति गर्न सभामुखको प्रभावकारी भूमिकाको अपेक्षा गरी सहमति र सम्वादको अपेक्षा गरेको बताइन् ।

यसअघि सभामुख महराको पहलमा सर्वदलीय बैठकमा सहमति कायम पश्चात सदनको बैठक सुचारु गर्न दलहरू सहमत भएका थिए ।

राजपा नेपालका सांसद राजकिशोर यादवले सभामुख महराको भूमिकाप्रति धन्यवाद दिँदै सदनमार्फत सरकार र राज्यलाई जनउत्तरदायी बनाउन आग्रह गरेका छन् । उनले महरालाई सबैको सभामुख बन्न सुझाव दिए ।

यसैबीच, संसदले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा सर्लाही घटना छानविन तथा सुझाव समिति पनि गठन गरेको छ ।

Published : Monday, 2019 August 5, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया